विरगंज । सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी नेकपाकै नेताहरुले कोरोना महामारीविरुद्ध सरकारले गरेका प्रयासहरु सार्थक नभएको टिप्पणी गरेका छन् । कोरोनाविरुद्ध सरकाकका सबै सफल र असफल प्रयासहरुको लेखाजोखा गरेर अब नयाँ रणनीति बनाउनुपर्ने माग सत्तारुढ पार्टीकै नेताहरुले उठाएका हुन् ।
नेकपाका प्रभावशाली नेता युवराज ज्ञवालीले कोरोना महामारी रोकथामका लागि सरकारका सफलता र असफलताका कारणहरु पत्ता लगाउनुपर्ने र त्यसकै आधारमा नयाँ रणनीति अपनाउनुपर्ने बताउनुभयो ।
सरकारले कोरोनाविरुद्ध थालेको युद्धमा आफ्नो रणनीति नबदले स्थितिमा सुधार नआउने उहाँको दाबी छ । नेता ज्ञवालीले आज बस्ने नेकपाको सचिवालय बैठकबाटै कोरोना रोकथामको नयाँ रणनीतिका लागि सरकारलाई दबाब दिन माग गर्नुभयो ।
सरकारले कोरोना रोकथामका लागि सुरुमा लकडाउन र अहिले निषेधाज्ञाका नाममा नागरिकलाई घरभित्रै थुन्नुबाहेक अन्य उल्लेख्य काम गर्न नसकेपछि सत्ताधारी दलभित्र र बाहिरबाट पनि चर्काे आलोचना भइरहेको छ ।
कोरोना नियन्त्रणका लागि निषेधाज्ञा मात्रै विकल्प नभएको भन्दै अर्थतन्त्र चलायमान बनाउन पनि आवाज उठ्न थालेको छ । विभिन्न जिल्लामा व्यापारिक संघ संगठनहरुले अब निषेधाज्ञा नमान्ने भन्दै विज्ञप्ति समेत जारी गरेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले नागरिकहरु रोगले भन्दा धेरै भोकले मर्न थालेको भन्दै अब भोक विद्रोह हुन सक्ने चेतावनी दिनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन बाहेक अन्य केही विकल्प नदेख्दा व्यवसायीहरुसँगै आम नागरिकहरु ठूलो समस्यामा परेको उहाँको भनाई छ ।
आम नागरिकसँगै उद्योगी व्यापारीहरुले निषेधाज्ञा हटाएर वैज्ञानिक व्यवस्थापनसहित कोरोनाविरुद्ध लड्नुपर्ने सुझाव दिए पनि सरकार भने त्यसको पक्षमा छैन । बरु संक्रमित धेरै रहेका ठाउँमा निषेधाज्ञा गर्न जिल्ला जिल्लामा पत्राचार गरिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेश्र गौतमले बताउनुभयो । उहाँले पाँच सय भन्दा धेरै संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्न र दुई सय संक्रमित रहेका जिल्लामा लकडाउन गर्न पत्राचार गरिएको जानकारी दिनुभयो ।
लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउन थालेका छन् । रोग र भोक दुवैबाट मानिसको जीवन असुरक्षित रहेको कुरालाई सरकारले ख्याल गर्नुपर्छ ।