बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिकामा कोरोना संक्रमण रिपोर्ट आउनु अगावै आत्महत्या गरेकी एक जना बृद्ध महिलामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
मृतकको आज स्वाब परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो । बर्दिवास नगरपालिका वडा नम्बर ३ गौरीडाँडाका ८० वर्षीय महिलामा संक्रमण पुष्टि भएको बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुर कुमार कार्कीले जानकारी दिनुभयो ।
८० वर्षीय महिलाले आज बिहान झुण्डिएर आत्महत्या गरेको उहाँले बताउनुभयो । मृतक महिलाको भदौं १५ गते स्वाब संकलन गरी परिक्षणको पठाईएको थियो । मृतकको घरका अन्य ३ जनामा भदौं ११ गते कोरोना संक्रमण पृष्टि भएको थियो ।
योसँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।