विराटनगर : विराटनगरमा हतियार देखाएर व्यापारीलाई धम्क्याउँदै पैसा असुल्ने अपराधिक गिरोह एक वर्षदेखि सक्रिय रहेको पाइएको छ । सञ्जाल विस्तार गरेर धाक धम्की दिएर ठाउँ/ठाउँमा गोली पड्काउँदै मजवुत योजनाका साथ व्यवसायीसँग पैसा असुल गरिरहे पनि प्रहरीमा यो सूचना साउन दोस्रो सातामात्रै पुगेको हो ।
हतियारको बलमा ज्यान मार्ने धम्की दिने र पैसा लिने गरेपनि गिरोहसँग डराएका कारण व्यवसायीले घटनालाई लुकाएर लामो समयदेखि प्रहरीलाई जानकारी नदिएको पाइएको छ । उक्त गिरोहमा आवद्ध रहेकामध्ये पाँच जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेर अनुसन्धान थालेपछि एक वर्षदेखि गिरोहले चलाइरहेको धन्दा बाहिर आएको हो ।
पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि छन् । भारत बिहार सितामडी घर भएका २७ वर्षीय राजु साह, मोरङको कटहरी गाउँपालिका–२ आदर्श नगरका २६ वर्षीय किसन साह, २८ वर्षीय एलेक्स भनिने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरीको बोदेवसाइन नगरपालिका–८ का २७ वर्षीय नन्दु भनिने नन्दकिशोर साह पक्राउ परेका हुन् ।
विराटनगरको जलजला चौकस्थित चाइना बजारमा कपडा बेच्ने काम गर्दै आएका भारतीय नागरिक राजुलाई विराटनगर महानगरपालिका–८ रेन्बो गल्लीस्थित उनकै डेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै किसनलाई विराटनगर–८ देवकोटा चौक, रविनलाई आफैँ घर, नन्दकिशोर र अभिषेकलाई विराटनगर–३ कञ्चनबारीस्थित नन्दकिशोरको डेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले संगठित रुपमा अपराधिक समूह स्थापना गरेर गिरोहमा आवद्ध रहेकाले हतियार देखाउँदै एक वर्षदेखि व्यापारीसँग पैसा असुल्ने गरेको पाइएको बताए । व्यापारीलाई ज्यान मार्ने धम्की दिएर पैसा लिने क्रमसँगै लुटपाट एवं चोरीका घटना पनि बढेको विशेष सूचनाका आधारमा गिरोहसम्म पुग्दै पक्राउ गर्न प्रहरी सफल भएको जानकारी उनले दिए ।
एसपी खड्काले गिरोहका मुख्य नाइके अभिषेक रहेको र हतियार देखाउँदै त्रसित बनाएर व्यापारीसँग रकम असुल्ने धन्दा उनकै योजनामा चलाइएको बताए । पक्राउ परेकामध्ये रविन र नन्दकिशोर अभिषेकका विश्वासपात्र र अरु दुई मुख्य सहयोगी रहेको खुलेको छ । रविनकै घरबाट प्रहरीले मंगलबार साँझ एउटा अटोमेटिक पेस्तोल र तीन राउण्ड गोली पनि बरामद गरेको छ । पक्राउ पर्नेमध्ये नन्दकिशोरको डेराबाट भारतीय र नेपाली रुपैयाँ गरेर ९७ हजार एक सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ । जसमा ४९ हजार चार सय ५० भारतीय रुपैयाँ रहेको एसपी खड्काले बताए ।
प्रहरीले विभिन्न कम्पनीका १६ थान मोबाइल, कोटाक महिन्द्र नामको भारतीय बैंकको चेक, उनीहरुले प्रयोग गर्ने को ३२ प ७५२५, को १५ प २३१५ र को ३६ प २७६२ नम्बरको मोटरसाइकल र एउटा चक्कु नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका पाँच जना र उनीहरुबाट बरामद गरिएको हतियार, नगद लगायतका सामान बुधबार सार्वजनिक गरेको छ । उनीहरुविरुद्ध हातहतियार खरखजना, अपराधिक लाभ र चोरी तथा संगठित अपराधमा मुद्दा चलाउन बुधबारनै म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी एसपी खड्काले दिए ।
‘यो गिरोहमा अरु पनि आवद्ध भएको हुन सक्ने आशंकामा विभिन्न कोणबाट अनुसन्धान गर्दै थप खोज्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘लामो समयदेखि धन्दा चलाइएका कारण अरु पनि व्यापारी पीडित भएको हुन सक्छन् ।’ खड्काले यो गिरोहबाट अरु व्यापारी वा सर्वसाधारण कोही पीडित भएमा तत्काल प्रहरीमा जानकारी गराउन आग्रह गरे ।
यस्तो छ घटना
प्रहरीका अनुसार विराटनगरका व्यापारी विवेक मालपानीलाई एक वर्षअघि ९८४०४१८२३० नम्बरको मोबाइलबाट १० लाख रुपैयाँ माग्दै धम्कीपूर्ण फोन आयो ।
पैसा नदिए ज्यान मार्नेसम्मको धम्की दिइयो । व्यवसायी मालपानी विराटनगरमा गुट्खा, चालम र तेलको डिलर लगायतका व्यवसाय सञ्चालन गर्छन् । धम्कीसँगै डराएका उनले त्यतिबेलै उक्त गिरोहलाई गुद्री बजारमा बोलाएर एक लाख रुपैयाँ सुम्पिएको प्रहरीले जनाएको छ । तर गिरोहसँग डराएका उनले प्रहरीमा भने खबर गरेनन् । उल्टै बाँकी रकम पछि उपलब्ध गराउने सर्त राखेर फर्किए ।
पुनः उनलाई गत असार २४ गते १० लाख रुपैयाँ माग्दै त्यही नम्बरबाट फोन आयो । उनले त्यसको पर्सिपल्ट असार २६ गते कञ्चनबारीको नहरमा बोलाएर त्यही गिरोहलाई थप चार लाख रुपैयाँ दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै विराटनगरका अर्का व्यापारी रतन पारकलाई त्यही नम्बरबाट साउन १३ गते १० लाखको ‘डिमान्ड’ गर्दै नदिए ज्यान मार्ने धम्कीसहितको फोन गयो । पारक विराटनगरमा इलेक्ट्रोनिक सामग्री र कम्प्युटरको व्यापार गर्छन् । उक्त घटनाबाट डराएका उनी साउन १६ गते कांग्रेसका एक नेताकहाँ पुगे । त्यसपछि तिनै नेताको सहयोग र सल्लाहमा पारक प्रहरीमा पुगेको पाइएको छ ।
घटनाको सुराक पाएको प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढायो । ‘दुवै व्यापरीलाई धम्क्याएको मोबाइल नम्बर र धम्क्याउने शैली एउटै भएपछि अनुसन्धान तीव्र पारिएको थियो,’ प्रहरीका एक अधिकृतले भने, ‘त्यसपछि खोजी गर्दै जाँदा गिरोहसम्म पुग्न सफल भइयो ।’
त्यस्तै यही भदौ १५ गते चाइना बजारका सञ्चालक रामनरेश साहको घरबाट ११ लाख रुपैयाँ चोरी भएको थियो । उक्त चोरीको घटनामा पनि यही गिरोहको संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ । भारतीय नागरिक राजु त्यही पसलमा काम गर्ने र सबै कुरा जान्ने भएकाले चोरीको योजना बनाउन गिरोहले सजिलै सकेको प्रहरीको विश्लेषण छ ।
धम्क्याउँदै असुलेको र चोरी गरेकोमध्ये केही रकम उनीहरुले बैंकमासमेत राखेको पाइएपछि त्यस सम्बन्धमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । व्यापारीलाई धम्क्याउने र पैसा माग्ने तथा लिने काममा भने अभिषेक र रविन अघि बढ्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
पैसा मागेका व्यापारीका घरमा गोली पड्काइयो
गिरोहले पैसा मागेका व्यापारीको घर आसपास र कम्पाउण्डमा उनीहरुलाई त्रसित बनाउने गोली पड्काउने गरेको पनि खुलेको छ । साउन १६ गते राति ९ बजेतिर विराटनगरमै गोली पड्किएको खुलेपछि प्रहरीले त्यसमा संलग्नको खोजी तीव्र बनाएको थियो । उक्त गोली पैसा मागेको तीन दिनपछि त्यही गिरोहले मनोवैज्ञानिक हिसाबले त्रास सिर्जना गर्न पारकको घरको पर्खाललाई लक्षित गरेर पड्काएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले त्यतिबेला घटनास्थलबाट गोलीको खोका फेला पारेको थियो । तर त्यसभन्दा नौ महिनाअघि त्यही गिरोहले व्यापारी मालपानीको घरको पर्खाललाई पनि लक्षित गरेर गोली पड्काएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मालपानीले भने उक्त घटनाका बारेमा आफूले चाल नपाएको प्रहरीलाई बताएका छन् । दुवै व्यापारीको घरको पर्खालमा पेस्तोलबाट गोलीले लागेको दाग पनि प्रहरीले भेटिसकेको छ । प्रहरीले अहिले बरामद भएको पेस्तोल र गोली तथा यसअघि फेला परेको खोका परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउने भएको छ ।
गिरोह चलाउन एक लाखमा पेस्तोल
यो गिरोहले विशेष गरेर मध्यम वर्गका व्यापारीलाई लक्षित गरेर पैसा असुल्ने गरिरहेको प्रहरीले जनाएको छ । धम्क्याएर पैसा असुल्ने समूहको नेतृत्व गरेका अभिषेकले गिरोह चलाउन भारतबाट एक लाख रुपैयाँ खर्च गरेर पेस्तोल झिकाएको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । उनले पनि प्रहरीलाई त्यही कुरा बताएका छन् । ‘एक लाखमा भारतबाट पेस्तोल र ६ राउण्ड गोली झिकाएपछि एक वर्षदेखि सञ्जाल विस्तार गरेर धन्दा चलाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘अहिलेसम्म तीन राउण्ड गोली विभिन्न ठाउँमा पड्काएर खपत गरिसकेको पनि खुलेको खुल्यो ।’
बाँकी रहेको तीन राउण्ड गोली प्रहरीले पेस्तोलसँगै बरामद गरेको छ । भारतमा हतियारको कारोबार गर्ने समूहसँग सम्पर्क बढाएर पेस्तोल झिकाएको पाइएको प्रहरीले जनाएको छ । भारतीय समूहका सदस्यले भारतदेखि विराटनगरको कोशी प्रोजेक्टसम्म ल्याइदिएपछि त्यहाँबाट अभिषेकले पेस्तोल लिएर आएको खुलेको प्रहरीका एक अधिकृतले बताए । यो समाचार अन्पुर्नापोस्ट्को लागि किशोर बुधाठोकीले लेख्नु भएको छ ।