नयाँ दिल्ली । कुरा ३१ अक्टोबर १९८४ को हो । कोलकाताबाट दिल्ली जाने इन्डियन एयरलाइन्सको बोइङ ७३७ विमानमा राजीव गान्धी, प्रणव मुखर्जी, शीला दीक्षित, उमाशंकर दीक्षित, बलराम जाखड, लोकसभाका सेक्रेटरी जनरल सुभाष कश्यप र एबीएगनी खाँ चौधरी सवार थिए । साढे दुई बजे राजीव गान्धीले विमानको ककपिटबाट बाहिर निस्केर इन्दिरा गान्धीको निधनको घोषणा गरे । त्यसपछि उनीहरुका बीचमा अब के गर्ने भन्ने बारेमा चर्चा भयो ।
प्रणव मुखर्जीले आफ्ना कुरा राख्दै भने, “नेहरूको जमानामा यस्तो परिस्थितिमा : अन्तरिम प्रधानमन्त्रीको शपथ दिलाउने परम्परा रहेको थियो । नेहरूको देहावसान पछि क्याबिनेटमा सबैभन्दा वरिष्ठ मन्त्री गुलजारी लाल नन्दालाई अन्तरिम प्रधानमन्त्रीका रूपमा चुनिएको थियो ।”
पत्रकार रशीद किदवाईले आफ्नो पुस्तक ‘२४ अकबर रोड’ मा लेखेका छन्– एक ब्यहोरा यस्तो छ कि इन्दिरा गान्धीको निधनले दुःखी भएर प्रणव मुखर्जी विमानको शौचालयमा गएर रुन लागे । उनको आँखा राता भए । त्यसैले विमानको पछिल्लो भागमा गएर बसे । तर, कांग्रेसमा उनका विरोधीहरुले प्रणवका हाउभाउलाई राजीव गान्धीविरुद्ध षडयन्त्र गरेको प्रमाणका रुपमा पेस गरे । अर्को धारणा यस्तो छ कि जब राजीव गान्धीले प्रधानमन्त्रीको निधनपछि भएको प्रक्रियाका बारेमा सोध्दा प्रणबले ‘वरिष्ठता’ मा केही बढी नै जोड दिए । जसलाई पछि उनको प्रधानमन्त्री पदमा बस्ने इच्छाका रुपमा प्रयोग गरियो ।”
प्रणव मुखर्जीले १९८६ मा कांग्रेसबाट अलग भएर राष्ट्रिय समाजवादी कांग्रेस बनाएपछि यस्तो अफवाह फैलाइएको थियो । यद्यपि, इन्दिरा गान्धीको प्रधान सचिव रहेका पीसी एलेक्जेन्डरले आफ्नो आत्मकथा ‘थ्रु द करिडोर्स अफ पावर : एन इनसाइडर्स स्टोरी’ मा राजीव गान्धीलाई प्रधानमन्त्री पदको शपथ दिलाउने छलफल चल्दा समर्थन जनाउने पहिलो व्यक्ति प्रणव रहेका स्पष्टसँग लेखेका छन् ।
तर, त्यो बेलासम्म नोक्सान भइसकेको थियो । चुनाव जितेपछि राजीव गान्धीले मन्त्रिमण्डल बनाए, प्रणव न मन्त्रिण्मडलमा समेटिए न त कांग्रेस कार्यसमितिमा नै । उनले १९८६ मा पार्टीबाट बाहिरिएर छुट्टै राष्ट्रिय समाजवादी कांग्रेस बनाउनुपर्यो ।
प्रणव मुखर्जीले दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर त्यो बेला गुमाए, जुन बेला सोनीया गान्धीले स्वयम् प्रधानमन्त्रीको पद अस्वीकार गरेपछि पार्टीमा दोस्रो वरियताका प्रणव मुखर्जीको स्थानमा राज्यसभामा कांग्रेसका नेता मनमोहन सिंहलाई प्रधानमन्त्री पदका लागि चयन गरियो ।
ती उनै मनमोहन सिंह थिए, जसलाई इन्दिरा गान्धीको शासनकालमा भारतीय रिजर्भ बैंकको गभर्नर पदको नियुक्ति पत्र प्रणव मुखर्जीले वित्त मन्त्रीका रुपमा हस्ताक्षर गरेका थिए । प्रणब मुखर्जीले कुनै समयमा आफू मातहत काम गर्ने मनमोहन सिंहलाई प्रधानमन्त्री बनाइएको विषयलाई कहिल्यै सार्वजनिक रुपमा विरोध गरेनन् ।
उनी आप्mना केही कमजोरीहरुबारे जानकार थिए । उनले एक स्थानमा आफूले राजनीतिक करिअरको लामो समय राज्यसभामा बिताएको बताएका थिए । हिन्दी भाषा बोल्न उनलाई असहज हुन्थ्यो । र उनले गृहराज्यमा कांग्रेसलाई कहिल्यै जिताउन सकेका थिएनन् । पछि उनले आफू नजिकका व्यक्तिहरुसँग मजाक गरेका थिए–प्रधानमन्त्री त आउँछन्, जान्छन् तर म सधैं पीएम (प्रणव मुखर्जी) नै रहनेछु ।”
प्रणवले झन्डै ५० वर्षको राजनीतिक जीवनमा प्रधानमन्त्री छोडेर हरेक महत्वपूर्ण पदमा काम गरेका थिए । प्रणवको बौद्धिक स्तर र उनको योग्यता देखेर नै इन्दिरा गान्धीले आप्mनो अनुपस्थितिमा मन्त्रिमण्डल बैठकको अध्यक्षता प्रणव मुखर्जीले गर्ने लिखित आदेश जारी गराएकी थिइन् । बीबीसीबाट