वीरगञ्ज। वीरगञ्जस्थित नारायणी अस्पतालमा पनि प्लाज्मा थेरेपीबाट कोरोना सङ्क्रमितको उपचार सुरु भएको छ । आइतबार अस्पतालमा पहिलो पटक एक जना कोरोना सङ्क्रमितको प्लाज्मा थेरेपीबाट उपचार सुरु भएको हो । उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन् ।
नागरिक सरोकार समाज पर्साको विशेष पहलपछि रक्तसञ्चार केन्द्र वीरगञ्ज र नारायणी अस्पतालबीच शनिबार प्लाज्मा बैंक स्थापना गर्ने सहमति भएसँगै आवश्यक मापदण्ड पूरा गरेर थेरेपीबाट उपचार सुरु गरिएको नारायणी अस्पतालले जनाएको छ ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धनात्मक उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरले जानकारी दिए ।
थेरेपीबाट पहिलो उपचार पाउँने व्यक्ति सर्लाही जिल्लाको चकरघट्टा गाउँपालिका वडा नम्बर ३ सुन्दरपुर निवासी ३५ वर्षीय पुरुष हुन् ।
स्वास्थ्यमा समस्या आएपछि शनिबार नारायणी अस्पताल भर्ना भएका उनको आइतबार स्वाब सङ्कलन गरेर पिसिआर प्रविधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनि अस्पताल भर्ना हुनुभन्दा एक हफ्ता पहिलादेखि उच्च ज्वरो र श्वासप्रश्वासको समयसाबाट ग्रसित थिए ।
उनमा गम्भीर किसिमको कोरोना देखिएकोले प्लाज्मा थेरेपीबाट उपचार थालिएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले बताए । आइतबार राति साढे १० बजेदेखि लगभग २ घण्टा उनको थेरापीबाट उपचार चलेको उनले जानकारी दिए । थेरेपीपछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
कोरोना सङ्क्रमणबाट मुक्त भएका व्यक्तिको रगतमा १४ दिनपछि एन्टीबडी निर्माण हुन्छ, सोहि व्यक्तिले दान गरेको रगतबाट प्लाजमा निकालेर नयाँ सङ्क्रमित व्यक्तिलाई चढाइने गरिन्छ । सङ्क्रमणमुक्त भएका व्यक्तिको शरीरबाट निकालिएको प्लाज्मा जब सङ्क्रमित व्यक्तिको शरीरमा जान्छ त्यहाँ रहेका भाइरस न्युट्रलाइज हुन्छन ।
विश्वभरी नै अहिले प्लाज्मा थेरेपीको प्रयोग गरेर कोरोना सङ्क्रमितहरुको उपचार सुरु भएको छ । अन्य विधि भन्दा छिटो र सजिलो यस प्रविधिबाट नेपालमा अहिलेसम्म काठमाडौँ, धरान र बुटवलमा उपचार चलिरहेको थियो ।
वीरगञ्जका नागरिक सरोकार समाजको विशेष पहल र समन्वयले यहाँपनि थेरेपीबाट उपचार सम्भव भएको हो । अस्पतालले कम्तिमा १४ दिन पहिला कोरोना सङ्क्रमणमुक्त भएका व्यक्तिलाई रक्तसञ्चार केन्द्र वीरगञ्ज पुगेर आफ्नो प्लाज्मा दान गर्न आग्रह गरेको छ ।