चितवन । भरतपुर अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ ।
भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल टिमका कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार अस्पतालमा सोमबार बिहान सात बजेर २० मिनेट जाँदा भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरुषको निधन भएको हो ।अस्पतालले निकालेको सूचनामा ती व्यक्तिमा भदौ २ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई भदौ ६ गते अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरे पनि बचाउन नसकिएको अस्पतालले उल्लेख गरेको छ ।
शुक्रबारयता चितवनमा दिनहुँ संक्रमितको मृत्यु हुन थालेको छ । शुक्रबार एकैदिन तीन जना, शनिबार दुई जना, आइतबार र आज सोमबार एक एकजना गरी पछिल्लो चार दिनमा सात जनाको मृत्यु भएको छ । योसहित चितवनमा निधन हुने संक्रमितको संख्या १३ पुगेको छ ।
उपचारको क्रममा चितवनमा अहिलेसम्म १३ जना संक्रमितको ज्यान गए पनि चितवनका मात्रै योसहित ६ जना छन् । अरु चितवनबाहिर घर भई उपचारका लागि भरतपुर आएका व्यक्तिहरु हुन् । चितवनमा भदौअघि दुई जनाको मृत्यु भएको थियो ।