भदौ ७ गते त्रिभुवन विश्वविद्यालयले एक विज्ञप्ति निकाल्दै विद्यार्थीहरुलाई भर्चुअल शिक्षाका लागि तयार रहन निर्देशन दियो। उक्त विज्ञप्तिमा त्रिविले कतिपय विद्यार्थीहरु अझै अनलाइन कक्षा चलिरहँदा पनि विश्वविद्यालयको सम्पर्कमा नआएको भन्दै परीक्षा ब्यवस्थापनमा समस्या भएको उल्लेख गरेको थियो।
‘महामारीलाई तुरुन्तै नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्षलाई आंकलन गरी विश्वविद्यालयले चैतको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई इमेल आइडी तयार गर्दै अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘तर हालसम्म पनि कतिपय विद्यार्थीहरु आफू अध्ययनरत क्याम्पस तथा विभागहरुको सम्पर्कमा नआएको जानकारी प्राप्त हुन आएको हुँदा पठनपाठन तथा स्थगन गरिएको परीक्षा व्यवस्थापनमा समस्या आएको छ।’
सोही विज्ञप्तिमा विश्वविद्यालयले विद्यार्थीलाई पठनपाठनमा सहभागी हुन आव्हान गरेको छ भने विभाग क्याम्पस प्रशासनलगायतलाई पनि विद्यार्थीलाई सम्पर्कमा ल्याउन आग्रह गरेको छ।