काबुल |अफगानिस्तानको विभिन्न स्थानमा बाढीका कारण एकै दिनमा १ सय १० जनाको मृत्यु भएको छ । अरु १ सय ५० जना घाइते भएको स्थानीय मिडियाले जनाएका छन् ।
देशका विभिन्न प्रान्तमा पछिल्लो २४ घण्टाको अवधिमा बाढी पहिरोबाट यस्तो क्षति भएको हो । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्ताहरु समेत केही प्रभावित स्थानमा जान नसकेको र केही वेपत्ता भएकाले मृतकको संख्या केही घण्टामा थप बढ्नसक्ने आंकलन गरिएको छ ।
देशको पार्वान प्रान्त, चरिकार, कापिसा प्रान्त लगायत क्षेत्र बाढीका कारण बढी प्रभावित बनेका छन् । पार्वानमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने १ सय १० जना घाइते भएका छन् । बाढीबाट महिला र बालबालिका पनि नराम्ररी प्रभावित बनेका छन् ।
साथै ठूलो संख्यामा स्थानीयहरु विस्थापित बन्न पुगेका छन् । र विभिन्न स्थानमा ठूलो मात्रामा भौतिक संरचना भत्किँदा जनजीवन कष्टकर बनेको छ ।