वीरगंज | नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति ५ सय १० जनाको नमुना परीक्षण गर्दा स्वास्थ्यकर्मीसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५ सय १० जनाको स्वाब परीक्षण गर्दा ४ महिलासहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाए ।
संक्रमित हुनेमा बाराका ६ जना, रौतहटका ३ जना र बाँकी पर्साका बासिन्दा हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरमा पनि कोरोना पोजिटिभ देखिएको छ ।
नारायणी अस्पतालको क्वाटरमा बस्ने थप दुई जनामा कोरोना पुष्टि भएको छ ।पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ७ जना र कालिकामाई गाउँपालिका– ५ विरन्चीवार्वामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराको महानगढीमाई नगरपालिकामा ४ जना र कबहीमा एक जना संक्रमित थपिएका छन् । रौतहटको गौर कारागारमा ३ जनामा कोरोना देखिएको छ ।
सशस्त्र प्रहरी गुल्म नम्बर १५ मा २ जना र जीतपुर आर्मी ब्यारेकमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यसैगरि वीरगन्जको गण्डक चौक, राधेमाई, घडीअर्वा, इनर्वा, रानीघाटमा पनि कोरोना संक्रमित थपिएका छन् ।
पर्सामा हालसम्म २ हजार एक सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ सय ४४ जना कोरोनामुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।