काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगन्जका कार्यालय प्रमुख डीएसपीसहित २३जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले रिपोर्टअनुसार बुधबारसम्म सो वृत्तमा कार्यरत २३ जनामा कोरोना संक्रमण देखिएको र जसमध्ये एक जना निको भइसकेको बताए ।
संक्रमित प्रहरीहरूलाई आइसोलेसनमा राखिएको उनले बताए । लक्षण देखिएकालाई अस्पतालमा लगिएको र अन्यलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ थियो ।
मनमैजुमा भएको हत्याको आरोपमा पक्राउ परेका चार जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती व्यक्तिबाट सो वृत्तमा कार्यरत प्रहरीलाई कोरोना संक्रमण भएको हो ।
सो हत्याकाण्डका मुख्य आरोपीबाट सुरूमा ९ जना प्रहरीमा कोरोना देखिएको थियो । अहिले संक्रमितको संख्या २३ पुगेको हो ।