चितवन। चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा २६ जना र सिएमसीमा २६ जना गरी ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालले बुधबार राति दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा चितवनका २५ र तनहुँका १ जना छन् ।
अस्पतालका अनुसार रत्ननगर नगरपालिका वडा नं ४, ९ र १२ का १२ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टाइनका हुन् ।
त्यसैगरी माडी नगरपालिका वडा नं ५ र ७ का ५ पुरुष र ४ महिलामा संक्रमण देखिएको छ । उनीहरु पनि क्वारेन्टाइनका भएको भरतपुर अस्पतालले जनाएको छ ।
यस्तै भरतपुर महानगरपालिका वडा नं ७ र २२ का दुईजना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । भरतपुर ७ का वर्षीय पुरुषको स्वाब बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट संकलन गरिएको हो भने भरतपुर २२ का संक्रमित क्वारेन्टाइनका हुन् ।
त्यसैगरी क्वारेन्टाइनमै रहेका तनहुँको देवघाटका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।
प्रयोगशालामा बुधबार राति १० बजेसम्म परीक्षण गरिएका १५९ नमूनाहरुमध्ये २६ वटाको पोजेटिभ आउँदा अन्य १३३ नमूनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
सिएमसीमा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि
यता चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा पनि २६ जनामा संक्रमण देखिएको छ । तीमध्ये २० जना चितवनका हुन् भने ३ जना नवलपरासी पूर्वका, २ जना सर्लाहीका र एकजना तनहुँका छन् ।
चितवनको भरतपुर- १, २, ३, ८, ९, १०, ११ र १४ का ८ पुरुष र ८ महिला गरी १६ जनामा संक्रमण पुष्टि हुँदा रत्ननगर-६, १० र १५ का ३ पुरुष र महिलामा पनि संक्रमण देखिएको छ ।
नवलपरासी पूर्वको गैंडाकोट र मध्यविन्दुका ३ पुरुषमा संक्रमण देखिँदा सर्लाहीको ईश्वरपूर र हरिपूरका १ पुरुष र १ महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यसैगरी तनहुँको भानु नगरपालिकाका ५० वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
सिएमसीमा बुधबार परीक्षण गरिएका १५५ नमूनाहरुमध्ये २६ वटा नमूनाहरुको रिपोर्ट पोजेटिभ आउँदा अन्य १२९ नमूनाहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।