राजविराज (अस) । नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा १७५ बोरा सेतो मटर बरामद गरिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ स्थित गोबरगाढाको सप्तकोशी किनारमा बिहान ४ बजेतिर ३ ओटा सानो र ३ ओटा ठूलो गरी ६ ओटा डुंगामा लोड गरी भारततर्फ लैजाने तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले बुधवार नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार मटरको अनुमानित मूल्य करीब रू. ३ लाख ५० हजार छ ।
भारतको बिहार राज्यमा मदिरा प्रतिबन्ध रहेको र मटरको मूल्य पनि राम्रै पाउने भएकाले केही दिनयता तस्करहरूले राती र एकाबिहानको समयमा डुंगाको प्रयोग गरी मदिरा र मटर सीमा पारी लैजाने गरेको प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ ।
३ दिनअघि पनि सशस्त्र प्रहरीको टोलीले भारततर्फ लैजाँदै गरेको अवस्थामा १ ट्रक मदिरा नाका क्षेत्र राजगढ गाउँपालिकाको मझौरा चोक नजिकैबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नाका क्षेत्रमा गस्ती र निगरानी बढाएपछि तस्करहरू सप्तकोशीबाट डुंगामार्फत तस्करीको नयाँ शैली अपनाउन शुरू गरेको पाइएको प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ ।
के तपाईले हाम्रो YouTube च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने नयाँ – नयाँ Video,News , Documentary, TVC Ads, PSA, Short Movie हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । https://www.youtube.com/watch?v=fwnMEF4kPi4