वीरगंज | अमेरिकामा प्रहरीको ज्यादतीविरुद्ध जारी प्रदर्शनका क्रममा बिहीबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ।गत आइतबार अश्वेत नागरिक ज्याकोब ब्लेकलाई विसकनसिनको केनोसामा प्रहरीले ७ पटक गोली हानेका थिए।
ज्याकोबलाई किन गोली हानियो भन्ने विषयमा कुनै जानकारी दिइएको छैन। त्यसयता ज्याकोबको न्यायको पक्षमा साथै प्रहरीको ज्यादतीको विरुद्धमा अमेरिकाका विभिन्न स्थानमा आन्दोलन जारी छ।
बुधबार केनोसा प्रहरीले तीन व्यक्तिलाई गोली लागेको बताए पनि कसले गोली हान्यो साथै कति जनाको मृत्यु भयो भन्ने बारेमा कुनै जानकारी दिएन। अमेरिकी संचारमाध्यमले भने दुई प्रदर्शनकारीको मृत्यु भएको बताएको छ।
हालै मात्र अमेरिकी प्रहरीले ७ गोली हानेका अश्वेत नागरिक ज्याकोब ब्लेकको कम्मर पुनिको भाग प्याराजाईज भएको खबर आएको थियो।२९ वर्षका ज्याकोबमाथि प्रहरीले गत आइतबार उनकै तीन छोराछोरी अगाडि गोली हानेका थिए |
अमेरिकामा प्रहरीले जोर्ज फ्लोइडको हत्या गरेपछि गत मे महिनायता रंगभेदविरुद्धको प्रदर्शन भइरहेको थियो। अश्वेत नागरिक ज्याकोबमाथि गोली प्रहार भएपछि पुनः रंगभेदविरुद्ध र प्रहरीको ज्यादतीविरुद्ध आन्दोलन चर्किएको छ।
प्रहरीले गोली प्रहार गरेको भिडियो भाइरल भएपछि त्यहाँका स्थानीयहरूले चर्को रुपमा विरोध प्रदर्शन गर्न थालेका छन्।
हाल प्रहरीको ज्यादतीविरुद्ध अमेरिकामा आन्दोलन चर्किएको छ। प्रदर्शन हिंस्रक बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ। साथै विशेष प्रहरीहरु सुरक्षाको लागि खटाइएको छ। एजेन्सी