वीरगंज। राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक प्रमाणपत्र तह मुनिका कार्यक्रम खारेज गरेको छ ।
गत साउन ३० मा बसेको आयोगको बैठकले चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको हो ।
आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रमाणपत्र तह भन्दा मुनिका सबै कार्यक्रम यसै शैक्षिक सत्रबाट बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार चिकित्सा शिक्षा ऐनकै दफा ४२ मै विश्वविद्यालय प्रतिष्ठान र सो अन्तर्गतका शिक्षण संस्थाहरुले प्रमाणपत्र तहका कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालन नगर्न/नगराउने र सञ्ंचालनमा रहेका यस्ता कार्यक्रमहरुको अध्ययन अवधि पूरा भएपछि स्वतः फेजआउट हुने निर्णय छ ।
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको पीसीएल नर्सिङ विषयमा पनि यो वर्षदेखि भर्ना लिन नपाउने उनले बताए । योसँगै सिएमए, अनमी, पीसीयल नर्सिङ र ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ ।
खारेजीमा परेका यी संस्थालाई माथिल्लो तहका कार्यक्रम पढाउन सक्ने गरी बाटो खुला गरिएको छ ।
यसअघि भर्ना भएका विद्यार्थीको अध्ययन पूरा गराउन सम्बन्धित संस्थाले तीन पटकसम्म परीक्षा लिने व्यवस्था मिलाउनु पर्ने पनि आयोगको भनाइ छ ।