वीरगंज। वीरगंजमा एकदिन भित्र चार व्यक्तिले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउँने यो पहिलो घटना हो ।वीरगंजमामा पछिल्लो २४ घण्टाभित्र चार व्यक्तिले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।
वीरगंजमा सञ्चालित दुई कोभिड विशेष अस्पतालमा भदौं ९ गते बिहान ६ बजेदेखि राति ११ बजेसम्मको अन्तरालमा चार व्यक्तिको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । ज्यान गुमाउँने सबै सङ्क्रमित बारा जिल्लाका बासिन्दा हुन् ।
नारायणी अस्पतालको मातहातमा सञ्चालित अस्थायी कोभिड विशेष अस्पताल गण्डक दुई जान र अस्थायी कोभिड विशेष अस्पताल वीरगंज हेल्थ केयरमा दुई जनागरी चार जनाको सङ्क्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
उनले भदौं ९ गते मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मको अन्तरालमा गण्डकमा दुई जनाले र राति ८ बजेदेखि ११ बजेको बीचमा वीरगंज हेल्थकेयरमा थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको बताए ।
वीरगंज हेल्थ केयरमा मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका वडा नम्बर १ छातवाका ४२ वर्षीय पुरुषको रहेका छन् ।
कलैयाका पुरुषलाई भदौं २ गते सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो भने विश्रामपुरका पुरुषलाई मंगलबार दिउँसो भर्ना गरिएको डा. चौरसियाले बताए । दुवै सङ्क्रमितहरुको छातीमा गम्भीर किसिमको छातीमा निमोनिया देखिनका साथ् स्वाप्रस्वासमा समेत समस्या आइरहेको उनले बताए । विश्रामपुरका सङ्क्रमितको एक पटक मृगौला प्रत्यारोपण पनि गरिएको उनले जानकारी दिए ।
त्यस्तै गण्डक अस्पतालमा मृत्यु हुनेमा महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियारटोलका ५९ वर्षीय र स्वर्ण गाउँपालिका वडा नम्बर ४ बस्ने परशुरामपुरका ७२ वर्षीय पुरुष रहेका छन् । उनीहरु मध्ये एक जनाको मंगलबार बिहान ६ बजे मृत्यु भएको थियो भने अर्का सङ्क्रमितले ११ बजेको करिबमा आइसीयुमा उपचार गराउँने क्रममा ज्यान गुमाएका थिए ।
परशुरामपुरका पुरुसलाई केहि दिन घरमै आइसोलेट गरेर स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको डा. चौरसियाले बताए । उनिपनि गम्भीर किसिमको निमोनियाबाट सिकिस्त भएको उनले जानकारी दिए । त्यसैगरी महागढीमाईका सङ्क्रमितलाई भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वासमा अत्याधिक समस्या हुनका साथ निमोनियाको समेत लक्षण देखिएको डा. चौरसियाले बताए ।
योसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउँनेको संख्या ४२ पुगेको छ । जसमध्ये १ जनाको पहिचान खुलेको छैन भने पर्साका ३१, बाराका ९ र रौतहटका २ जना रहेका छन् । पर्सामा सङ्क्रमितको संख्या २ हजार पुग्न लागेको छ ।