वीरगंज । दैनिक पर्याप्त पानी पिउने मानिसको छाला, मांसपेशी र जोर्नी स्वस्थ रहनसक्छ । हाम्रो शरीरलाई पोषक तत्व अवशोषित गर्न र रोगसँग लड्न पानीले सहयोग गर्छ । साथै दैनिक केही गिलास मनतातो वा तातो पानी पिउने गरेमा थप फाइदा हामीले पाउन सक्छौँ ।
तातो पानी पिउनाले शरीरलाई पुग्ने फाइदाका बारेमा खासै वैज्ञानिक अनुसन्धान नभए पनि वैकल्पिक चिकित्सामा लागेकाले स्वास्थ्य सुधार गर्न तातो पानीलाई सजिलो माध्यम मानेका छन् ।
हजारौँ वर्षदेखि मानिसले तातो पानी पिउने गरेको छ । परम्परागत उपचार पद्धतिमा विश्वास गर्नेसँग तातो पानीले स्वास्थ्यमा पुग्ने फाइदाका बारेमा कैयौँ दृष्टान्त छन् तर विज्ञानले मानिसको शरीरमा तातो पानीको फाइदाका बारेमा अनुसन्धान गर्न थालेको धेरै समय भएको छैन ।
स्वस्थ पाचन
मानिसले पर्याप्त मात्रामा पानी नपिएमा उसको सानो आन्द्राले खानाबाट आएको अधिकांश पानी अवशोषित गर्छ । यसले गर्दा जलवियोजनको अवस्था आउँछ र पाचन प्रक्रियामा त्यसको दुष्प्रभाव पर्छ ।
नराम्रोसँग जलवियोजन हुँदा कब्जियत पनि त्यस्तै खालको हुन्छ । जसको नतिजामा मल त्याग गर्न गाह्रो हुने, दिसामा रगत जाने र पेट ढाढिने गर्छ । तातो पानी पिउने गरेमा यो समस्या या त आउँदैन वा कम भएर जान्छ ।
शरीर शुद्धीकरण
प्राकृतिक चिकित्साको वकालत गर्नेले शरीरको सफाइमा तातो पानीको महìव रहेको बताउँछन् । जब पानी तातो हुन्छ त्यसले शरीरको तापक्रम वृद्धि गर्छ । जस कारणले पसिना आउँछ । पसिनाले शरीरबाट विषालु तत्व निकाल्छ र छाला स्वस्थ रहन्छ ।
रक्तसञ्चारमा सुधार
तातो पानीलाई रक्तसञ्चार सुधारकका रूपमा लिइएको छ । अर्थात् यसले रक्त नलीलाई रक्त प्रवाहका लागि सहज बनाउँछ । यसबाट मांसपेशीलाई आराम पुग्ने र पीड कम हुने गर्छ ।
तौल घटाउँछ
धेरै पानी पिउँदा शरीरको तौल कम हुने मान्यतामा धेरै पहिलेदेखि अनुसन्धानकर्मीको चासो छ । यसको पछाडिको कारण के हुनसक्छ भने धेरै पानी पिउँदा पेट भरिएको महसुस हुन्छ र कम खाइन्छ ।
साथै पानीले शरीरलाई पोषक तत्व अवशोषित गर्न र फोहोर वस्तु बाहिर निकाल्न पनि सहयोग गर्छ । सन् २०१३ मा प्रकाशित गरिएको एउटा अनुसन्धानले चिसो पानी पिउनेले तातो पानी पिउन सुरु गर्दा शरीरको तौल घट्ने निष्कर्ष दिएको थियो ।
खाना खानुअघि आधा लिटर पानी पिउने हो भने शरीरको आन्तरिक पाचन प्रणाली ३० प्रतिशतले वृद्धि हुने समेत सो अनुसन्धान पत्रमा उल्लेख गरियो ।
पीडाहरक
तातो पानीले रक्तसञ्चार सुमधुर पार्छ र रक्तप्रवाहमा सुधार आउँछ । खासगरी चोट लागेको मांसपेशीलाई यसले फाइदा पुग्छ । तथापि यसमा वैज्ञानिक आधार पत्ता लगाइएको छैन । तैपनि मानिसले तातो पानीले शरीर सेक्ने अभ्यास अद्यापि छँदैछ ।
चिसोबाट बच्न र नाकका स्वास्थ्य सुधार्न
चिसो र नाकको एलर्जीले नाकमा परेको दबाब कम गर्न तातो पानीले मद्दत पुग्छ । पानीको बाफ लिँदासमेत फाइदा हुन्छ । तातो पानीले नाकमा जमेको सिँगान पगाल्छ र नाक खुल्छ ।
तनाव कम गर्न
एक कप तातो पानी चिया पिएसरह पिउने गरेमा तनाव कम गर्न सहयोग पुग्नसक्छ । तातो चिया वा कफीले समेत मानसिक स्वास्थ्य सुधार्नमा सहयोग पुग्ने देखिएको छ । चिया वा कफीको केफिनले मानसिक स्वास्थ्य सुध्रने दाबी गरिन्छ तर तातोले समेत त्यसमा योगदान गर्ने कुरा बिर्सनुहुन्न ।
तातो पानीको जोखिम
तातो पानीको सबैभन्दा पहिलो जोखिम भनेको त तातोले पोल्ने नै हो । औँलाको टुप्पो वा औँलामा ठिक्क लाग्ने तातो पानीले जिब्रो वा घाँटी पोल्न सक्छ । त्यसैले निकै तातो पानी पिउनुहुँदैन । साथै तातो पानी भन्दै चिया र कफी धेरै पिउन थालेमा शरीरमा केफिनको दुष्प्रभाव पर्नसक्छ । (एजेन्सी)