वीरगंज | हङकङका वैज्ञानिकहरुले साढे चार महिना अघि कोभिड १९ संक्रमणबाट मुक्त भएका एक व्यक्तिमा पुन: संक्रमण देखिएको बताएका छन्।
यसअघि पनि संक्रमितहरुमा पुन: भाइरसको संक्रमण देखिएपनि वैज्ञानिकहरुले ३३ वर्षीय पुरुषमा भने पहिला र अहिले देखिएको भाइरसको संक्रमण फरक रहेको जनाएका छन्। त्यसैले वैज्ञानिहरुले यसलाई ‘विश्वकै पहिलो पुन: संक्रमण’ को केस भनेर दाबी गरेका छन्।
तर विश्व स्वास्थ्य संगठनले भने एकजना व्यक्तिको संक्रमणलाई आधार मानेर निश्कर्ष बनाइ हाल्ने अवस्था नरहेको बताएको छ। विज्ञहरुले ‘पुन: संक्रमण’ दुर्लभ हुनसक्ने र डर लाग्दो नहुन सक्ने बताएका छन्।
युनिभर्सिटी अफ हङकङले तयार गरेको रिपोर्टका अनुसार हाल ‘पुन: संक्रमण’ देखिएका व्यक्तिले संक्रमण मुक्त भएर घर फर्कनु अघि अस्पतालमा १४ दिन बिताएका थिए। त्यसपछि उनलाई भाइरसको कुनै लक्षण देखिएको थिएन। तर विमानस्थलमा स्क्रिनिङका क्रममा स्वाब परीक्षण गर्दा उनमा दोस्रोपटक भाइरसको संक्रमण देखिएको हो।
हाल ‘पुन: संक्रमण’ देखिएका व्यक्तिलाई चिकित्सकहरुको निगरानीमा राखिएको छ।