वीरगंज | सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा गणपति तालिम सञ्चालन भएको छ ।प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले तालिमको उद्घाटन गरेका हुन् ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले मध्यम तहका र प्रत्यक्ष रुपमा फिल्डमा खटिई बटालियन तहको नेतृत्व वहन गर्ने अधिकृतहरुलाई लक्षित पेशागत ज्ञान, व्यावसायिक दक्षता एवं नेतृत्व क्षमतामा अभिबृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए ।
उनले यस्ता तालिमबाट प्राप्त ज्ञान, कला र कौशलको उपयोग गरी सशस्त्र प्रहरी अधिकृतहरुले कार्यक्षेत्रमा आईपर्ने विविध चुनौतीहरुलाई परास्त गर्दै आत्मविश्वासका साथ चुस्त रुपमा कार्यसम्पादन गर्न कृयाशील रहनुपर्ने बताए ।
उनले यस किसमका तालिमले सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।
तालिममा प्रशिक्षार्थीहरुलाई स्टाफ ड्युटिज, कमाण्ड एण्ड म्यानेजमेन्ट, ट्याक्टिस, सुरक्षा, विभिन्न ऐन नियमहरु तथा संगठनको कामकारवाही लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइने छ ।
करीब दुई महिना अवधिको उक्त तालिममा २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।