वीरगंज। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म धेरै देश प्रभावित भएका छन् । यसैबीच रुस, बेलायत, चीनलगायतका केही देशले खोप निर्माणको सफलता नजिक पुगिसकेका बताइएको छ ।
बेलायत, चीन, रुसले तेस्रो चरणको क्लिनिकल परीक्षणमा सफलता पाएको दावी पनि गरेको छ । यसैबीच नेपालमा पनि कोरोनासँग लड्न सक्ने भ्याक्सिनको क्लिनिकल ट्रायल गर्ने अनुमती प्राप्त भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि काम अघि बढाउन अनुमति दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षणका लागि अनुमति दिएको बताए ।
उक्त कम्पनीले नेपालमा रहेको होङ्सी सिवम् सिमेन्ट उद्योगमा काम गर्ने १ हजार चिनियाँ कामदारमा परीक्षण गर्न अनुमति मागेको र जसमा नेपालीलाई समावेस गराउने की नगराउने भन्ने बारे छलफल भइरहेको उनले बताए ।
यसबारेमा परिषद्ले सोमबार देखी नै चिनियाँ पक्षसँग छलफल शुरु गरेको बताइएको छ । यसबारेमा डा. ज्ञवालीले भने – / यो ट्रायलमा नेपालीलाई पनि सहभागी गराउने वा नगराउने भन्ने बारेमा छलफलपछि निश्कर्षमा पुग्नेछौँ।/