वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ ।
पर्साको सुपौली घर भएका ६८ वर्षीय पुरुषको आइतबार राति १० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । तराई हस्पिटलबाट रिफर गरी ल्याइएको केहिबेरमै वृद्धले ज्यान गुमाएको कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।
मृतक वृद्धको कोरोना रिपोर्ट आउँन बाँकी रहेको छ ।मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा उपचारका हिजो साँझ ६ बजे तिर भर्ना भएका वृद्धमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई आइतबार राति साढे ९ बजे गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
तराई अस्पतालका चिकित्सक डा. रोशन कुर्मीका अनुसार गम्भीर अवस्थामा अस्पताल ल्याइएका उनलाई इमर्जेन्सी कक्षमा भर्ना गरेर उपचार शुरु गरिएको थियो ।एक्स–रे गरेर हेर्दा दुईवटै फोक्सोमा निमोनिया देखिएको कुर्मीले बताए । अक्सिजन दिँदा पनि अक्सिजन लेभलमा सुधार आइरहेको थिएन ।