वासिङ्टन | अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन(एफडीए) ले आपत्कालीन अवस्थामा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति प्रदान गरेको छ ।
आइतबार एफडीएले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्दा जोखिमभन्दा फाइदा नै बढी भएकाले अनुमति दिएको उल्लेख गरेको छ ।एफडीएका अनुसार अहिलेसम्म अमेरिकामा ७० हजारभन्दा बढी कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार भइसहेको छ ।
आइतबार ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले प्लाज्मा थेरापीले अनुमति पाउनु ‘ऐतिहासिक’ भएको बताए । कोरोना भाइरसलाई पुन: एक पटक ‘चिनियाँ भाइरस’ संज्ञा दिँदै उनले भने, ‘आज म वास्तवमै चिनियाँ भाइरसविरुद्धको हाम्रो लडाइँको एउटा ऐतिहासिक घोषणा गर्दैछु जसले अनगिन्ती जीवनहरु बचाउनेछ । आजको कदमले कोरोना संक्रमितको उपचारमा पहुँच बढाउनेछ ।’
गत हप्ता राष्ट्रपति ट्रम्पले ‘कन्भालेसेन्ट प्लाज्मा थेरापी’ का लागि अनुमति नदिएर राजनीति गरिरहेको बताएका थिए । आइतबार टम्पले प्लाज्मा थेरापीबाट कोरोनाबाट हुने मृत्युदर ३५ प्रतिशतसम्म कम भएको दाबी गरे । साथै उनले कोरोना भाइरसको संक्रमणपछि निको भएका व्यक्तिहरुलाई प्लाज्मा दान गर्न पनि आग्रह गरेका छन् । त्यस्तै उनले कोरोनाविरुद्धको खोप पनि चाँडै नै निर्माण हुने बताए ।
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म करिब ५७ लाख संक्रमित भइसकेका छन् । त्यस्तै कोरोनाबाट अमेरिकामा एक लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ भने करिब २० लाख निको भएका छन् ।