लमजुङको बेशीसहर नगरपालिका ९ साम्दी गाउँमा आइतबार बिहानै चितुवा पस्यो। घरघर डुलेको चितुवाले बालबालिका र बाख्रालगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न सक्ने ठानेर गाउँलेहरू डराए।
चितुवा भगाउन होहल्ला गरे। तैपनि चितुवाले गाउँ छाडेको रहेनछ। पौने आठ बजेतिर चितुवा स्थानीय हरिबहादुर थापाको घरछेउ आइपुग्यो।
गाउँमा बाँदर पनि आइरहन्थ्यो।
‘गाउँलेहरूले हैट… हैट… गरिरहेका थिए। घरछेउको गल्लीमा केही उफ्रिएजस्तो लाग्यो। बाँदर हो कि भनेर खले गराको डिलबाट गल्लीतिर हेरेकोमात्रै थिएँ, बुर्लुक्क उफ्रेर चितुवा पो ममाथि जाइलाग्यो,’ घाइते थापाले सेतोपाटीसँग भने, ‘पाँच मिनेटजति म र चितुवाबीच घम्साघम्सी भइरह्यो।’
उनको हातमा हँसिया रहेछ।
‘कान्लामुनिबाट उफ्रेर आएको चितुवाले मेरो पाखुरामा पहिले चिथोर्यो,’ उनले भने, ‘मेरो हातमा पनि हँसिया थियो। हँसियाले हानें। हँसिया चितुवाको नाकमा लागेछ।’
त्यसपछि र थापा भुइँमा ढलेछन्। चितुवा उठेर फेरि आक्रमण गर्न आएपछि थापाले चितुवाको घाँटीमै हँसियाले हानिदिए।
‘एकअर्कोले आक्रमण गरिरह्यौं,’ उनले भने, ‘हातको औंला टोकिदिएको छ। खुट्टाका घुँडामा चिथोरेको छ। पाखुरामा गहिरो गरी नङ्ग्राले कोपरिदिएको छ। तैपनि मैले चितुवालाई छाडिनँ, हँसियाले हानेर मारिदिएँ।’
थापा अहिले लमजुङ सामुदायिक अस्पतालमा उपचाररत छन्। उनलाई थप उपचारका लागि टेकु ल्याउने तयारी गरे पनि कोरोनाका डरले गर्दा ल्याउने कि नल्याउने निर्णयमा आफन्त पुगिसकेका छैनन्।
६८ वर्षीय थापा नेपाली सेनाका पूर्वलप्टन हुन्।
मारिएको चितुवालाई जिल्ला वन कार्यालयका कर्मचारीले व्यवस्थापन गर्ने तयारी गरेका छन्।
बेशीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले घाइते थापाको उपचार भइरहेको जानकारी दिए। ‘उहाँलाई आक्रमण गर्न आएको चितुवालाई उहाँले नै मारिदिनुभएछ। उहाँ घाइते हुनुहुन्छ, उपचार जारी छ,’ उनले भने।