वीरगंज | कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको हत्या सम्बन्धमा अनुसन्धान गर्दा निलम्बन तथा बर्खास्त गरिएका प्रहरी अधिकारीलाई अन्याय भएकाले नेतृत्वले माफी माग्नुपर्ने फैसला भएको छ।
कञ्चनपुर जिल्ला अदालतको फैसला अनुसार तत्कालीन समयमा पन्त हत्या प्रकरणमा अनुसन्धान गर्दा प्रहरीबाट गल्ती, कमजोरी नदेखिएको, अनुसन्धानमा खटिएका प्रहरीको विगत पनि खराब नदेखिएको तथा सशंकित व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राख्न अनुसन्धान अधिकृतहरू स्वतन्त्र रहेको अवस्थामा राज्यले नै उनीहरूमाथि मुद्दा चलाउनु उपयुक्त ठहरिएन।
यसबाट ती प्रहरीको वृत्ति विकास र मानप्रतिष्ठामा गम्भीर असर परेकाले नेतृत्वले माफी माग्नुपर्ने फैसलामा उल्लेख छ। फैसलामा बजार हल्लाको पछि लागेर अनुसन्धानमा खटिएका प्रहरी अधिकृतमाथि मुद्दा लगाउँदा अन्याय भएको गत साउन १५ गतेको फैसलाको पूर्ण पाठमा उल्लेख छ।
अदातले पन्त हत्या अनुसन्धान प्रकरणमा निलम्बन र बर्खास्त भएका प्रहरीहरूलाई दुई वर्षपछि सफाइ दिएको छ। निलम्बन र बर्खास्त गरी मुद्दा चलाउँदा उनीहरूको वृत्ति विकास र मान, सम्मान, प्रतिष्ठामा आँच पुगेको ठहरसहित अदालतले नेतृत्वले सार्वजनिक रूपमा माफी माग्नुपर्ने फैसला सुनाएको हो। नागरिक दैनिकमा खबर छ ।