कोरोना संक्रमणबाट जटिल अवस्थामा पुगेका बिरामीहरुको अन्य प्रभावकारी उपचार विधि नभएकाले नेपालमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्नेक्रम बढ्दो छ। तर, प्लाज्मा दान गर्ने दाता पाउन भने बिरामीलाई मुस्किल पर्ने गरेको छ।
कोरोना संक्रमण निको भइसकेका व्यक्तिले रगत दान गरिसकेपछि त्यसबाट प्लाज्मा निकाली जटिल अवस्थामा पुगेका बिरामीलाई दिइन्छ। उक्त प्लाज्मामा भाइरसविरुद्ध लड्ने एन्टिबडी हुने भएकाले त्यसले जटिल अवस्थाका बिरामीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता जगाउनुका साथै रोगसँग लड्न मद्दत पुर्याउँछ।
त्रिवि शिक्षण अस्पतालमा साउन तेस्रो साता भेन्टिलेटरमा पुगेका एक ६० वर्षीय कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरियो, जुन नेपालको पहिलो सफल केस थियो।
त्यसबेला विदेशबाट फर्किएर संक्रमित भएका र निको भएका एक व्यक्तिले प्लाज्मा दान गरेका थिए। रगतबाट प्लाज्मा छुट्टाउने काम भने ग्रान्डी अस्पतालका रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपालले गरेका थिए।
सरकारीतर्फका त्रिवि शिक्षण अस्पतालमा चार, पाटन अस्पतालमा दुई र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक जना संक्रमितको प्लाज्मा थेरापीविधिबाट सफल उपचार भइसकेको छ। यस्तै निजीतर्फ ह्याम्स अस्पतालमा पाँच जना, मेडिसिटीमा दुई जना र ग्रान्डी अस्पतालमा दुई जनाको उपचार भइसकेको भट्टराईले जानकारी दिए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालसम्म देशका १५ वटा अस्पताललाई यस विधिबाट उपचारका लागि अनुमति दिइसकेको छ। तर अहिलेसम्म उपत्यकाका अस्पतालमा मात्रै प्लाज्मा थेरापी विधिबाट उपचार भएको छ। उपत्यकाका अधिकांश अस्पतालमा उपचारका लागि प्लाज्मा निकालेर उपलब्ध गराउने डा. नेपालले बिरामीले सहजै प्लाज्मा दान गर्ने व्यक्ति नपाएको अनुभव सुनाए।
‘अहिलेसम्म नेपालमा अधिकांश प्लाज्मा छुट्टाउने काम ग्रान्डीबाट नै भइरहेको छ’, डा. नेपालले नेपालखबरसँग भने, ‘तर, हामीलाई दाता पाउन साह्रै मुस्किल भइरहेको छ। दिनमा २०–२५ जना दातालाई फोन गरेपछि बल्ल एक जना आउनुहुन्छ। उहाँलाई पनि कन्भिन्स गर्ने, ल्याउने, पुर्याउने सबै काम आफैंले गर्नुपर्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर शुक्रबारसम्म कोरोना संक्रमित भई आईसीयूमा १३३ र भेन्टिलेटरमा १५ जना उपचाररत छन। जटिल अवस्थाका बिरामीलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता पर्छ।
डा. नेपाल दाताको अभाव नहुने हो भने ग्रान्डीमा मात्रै एकहजार प्लाज्मा राख्नसक्ने क्षमता भएको र आफू दैनिक सय प्लाज्मा छुट्टाउन सक्ने अवस्थामा रहेको बताउँछन्। तर, गम्भीर प्रकृतिका बिरामीका लागि प्लाज्मामाको माग दिनहुँ बढ्दो रहे पनि एउटै पुर्याउन समेत मुस्किल रहेको अनुभव उनले सुनाए।
‘अहिले दिनको ८–१० वटा माग भइरहेको छ। पुर्याउन भने एउटा पनि सकेका छैनौं,’ उनले भने, ‘नसक्नुको कारण दाताको अभाव भएर नै हो। दाताको अभावपूर्तिमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन।’
नेपालमा कोरोना भाइरसको संक्रमणबाट शनिबारसम्म १८ हजार ३५० जना निको भइसके। तर सरकारी निकायले पहल गरी उनीहरुबाट प्लाज्मा लिने र स्टोर गर्ने संयन्त्रको विकास नगर्दा जटिल अवस्थाका संक्रमितले समयमै प्लाज्मा नपाउने अवस्था देखिएको छ।
ब्लड बैंकजस्तो प्लाज्मा लिएर एक ठाउँमा नराख्दा बिरामीका आफन्तहरुले सामाजिक सञ्जालमार्फत् प्लाज्माका लागि हार–गुहार गर्नुपरिरहेको छ। सामाजिक सञ्जालबाट माग्दा आफ्नो पहिचान खुल्ने तथा सम्बन्धित व्यक्तिसम्म खबर नपुग्ने कारणले पनि प्लाज्मा पाउन मुस्किल परिरहेको छ।
डा. नेपालले स्वास्थ्य मन्त्रालय वा अन्य सरोकारवालाले ब्लड बैंकजस्तै प्लाज्मा बैंकको स्थापनाका लागि पहल थाल्न सुझाव दिए।
‘अरु उपाय नै नलागेपछि बिरामीलाई जोगाउन प्लाज्मा थेरापी विधिद्वारा उपचार गरिने हो। त्यसैले यसको संवेदनशीलतालाई बुझेर अन्य सरोकारवाला निकायले पहल थाल्नुपर्यो,’ डा. नेपालले भने, ‘संक्रमणबाट निको भएका धेरैलाई फोन गर्दा कतिले अनिच्छा व्यक्त गर्नुहुन्छ। यस्तोमा उहाँहरुलाई पनि प्लाज्मा दान गर्दा शरीरलाई केही हानी नहुने कुराको चेतना फैलाइ दिनुपर्यो।’
प्लाज्मा थेरापी उपचार विधिको नेतृत्व गरिरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले प्लाज्मा दान गर्नेहरुबाट लिई स्टोर गरेर राख्नेबारे छलफल भइरहेको बताए।
‘स्टोर गरेर राख्ने प्रविधि अहिलेसम्म भइसकेको छैन, हामीले योजना बनाएका छौं,’ ज्ञवालीले भने, ‘क्रिटिकल बिरामीहरुको संख्या बढेसँगै प्लाज्माको माग पनि बढ्दैछ। अहिलेसम्म बिरामीले नै दाता खोजेर प्लाज्मा लिइरहेका छन्। दाता बढ्दै गए ब्लड बैंकमा सुरक्षितसँग राख्ने योजना छ।’
उनले अहिले त्रिवि शिक्षण अस्पतालमा पनि सिधै प्लाज्मा निकाल्ने प्रविधि सुरु गरिएको बताए। त्यहाँ एउटा व्यक्तिबाट पाँच सय मिलिलिटर प्लाज्मा निकालेर तीन वटालाई दिन मिल्ने व्यवस्था गरिएको ज्ञवालीले जानकारी दिए।
कसले दिने प्लाज्मा?
प्लाज्मा थेरापी कोरोना भाइरसको शतप्रतिशत प्रमाणित उपचार विधि हैन। यसअघि पनि थुप्रै भाइरस संक्रमणमा यो विधि प्रयोग गरिँदै आएको र भाइरसलाई निष्प्रभावी बनाउन भूमिका खेल्ने भएकाले यसलाई कोरोना भाइरसविरुद्ध पनि प्रयोगमा ल्याइएको डा. नेपाल बताउँछन।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मापदण्ड अनुसार श्वास फेर्न गाह्रो भएको, शरीरमा अक्सिजनको मात्रा एकदमै कम भएको, शरीरका अंगले काम गर्न छाड्दै जाँदा तथा आईसीयू र भेन्टिलेटरमा भएका बिरामीलाई यो विधिबाट उपचार गरिन्छ।
परिषद्का सदस्यसचिव डा. ज्ञवालीका अनुसार प्लाज्मा दिन चाहने दाताको आरटी पीसीआरबाट कोभिड १९ भएको निश्चित हुनुपर्ने, रक्तदान गर्नुभन्दा कम्तीमा १४ दिनअघि कोभिडका लक्षण नदेखिएको हुनुपर्छ।