वीरगंज | नेकपाको आन्तरिक विवाद मिलाउन गठित कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेको छ ।शनिबार शीर्ष नेताहरुलाई सुझावसहित बालुवाटारमा कार्यदलको बैठक सम्पन्न भएको हो ।
दिउँसो ३ बजे सम्पन्न बैठकले प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझाव पार्टी शीर्ष तहलाई दिएको छ ।
सुझाव सहितको उक्त रिपोर्ट शनिबार साँझ ५ बजे नै पार्टी अध्यक्षहरुलाई बुझाउने कार्यदलका एक नेताले जानकारी दिए ।नेकपाले पार्टीमा जारी विवाद समाधानका लागि नेताहरु विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्माको ६ सदस्यीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलले शनिबार आफ्नो जिम्मेवारी सम्पन्न गर्दै रिपोर्ट तयार पारेको हो ।
यस्तो छ कार्यदलको सुझाव :
– प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।
– सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।
– आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।
– सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।
– सरकारको उपस्थिति र भमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।
– कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउने ।