कास्की। निषेधाज्ञा अवधिमा समेत रक्तदानका कार्यक्रम स्थगन नगर्न नेपाल रेडक्रस सोसाइटी कास्कीले आग्रह गरेको छ।
बिरामीको उपचारका लागि अत्यावश्यक रगत मौज्दात कम हुँदै गएको र रक्तदानका कार्यक्रम स्थगन भइरहेकाले सोसाइटीले आवश्यक सुरक्षा उपाय र दूरी कायम गरी कार्यक्रम गर्न र कार्यक्रम नरोक्न विभिन्न संघसंस्थामा आग्रह गरेको हो।
भदौ १ गते यताका सबै कार्यक्रम स्थगन भएपछि रक्तसञ्चार केन्द्रमा आगामी दुई/तीन दिनलाई पुग्ने बाहेक रगत नरहेकाले कार्यक्रम आयोजना गर्न र दुई वा दुईभन्दा बढी व्यक्तिले रक्तदान गर्न चाहेमा सम्बन्धित व्यक्ति रहेकै ठाउँमा रक्त सङ्कलन एम्बुलेन्समार्फत् रक्तदानको प्रबन्ध मिलाइएको रेडक्रसका मन्त्री धर्मराज अधिकारीले बताए।
त्यसैगरी व्यक्तिगतरूपमा रक्तदान गर्न चाहनेलाई प्रशासन तथा प्रहरीसँग समन्वय गरिएको र रक्तदातालाई कुनै पनि अवरोध नहुने भएकाले सुरक्षित तरिकाले क्षेत्रीय रक्तसञ्चार सेवासम्म लैजाने र फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
गण्डकी प्रदेशको राजधानी शहर पोखरासहित प्रदेशका विभिन्न जिल्लामा अहिले निषेधाज्ञा जारी गरिएको छ।
गण्डकीका अन्य जिल्लाबाट समेत बिरामी रेफर भएर पोखरा आउने गरेकाले यहाँ रगतको माग उच्च रहने गर्दछ। पोखरामा दैनिक ७० युनिट रगतको माग हुने गरेको छ। रासस