वीरगंज । नेपालमा कोरोना संक्रमितको संख्या प्रतिदिन पाँच सयभन्दा बढी थपिइरहेकाे छ। संख्या थपिएसँगै पछिल्लो समय देखिएका संक्रमितमा गम्भीर लक्षण पनि देखिन थालेका छन्।
तर केहीमा भने कोरोना पुष्टि मात्र भएका छन्, उनीहरुमा लक्षण भने देखिएकाे छैन। लक्षणसहितका संक्रमित कोभिड अस्पतालका आइसोलेसनमा छन्। कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएका संक्रमित भने सरकारकाे स्वास्थ्य निर्देशिकाअनुसार होम आइसोलेसनमै छन्।
अहिले देखिएका कोरोना संक्रमितलाई वर्गीकरण गरेर होम आइसोलेसनमा राख्नुपर्ने जनस्वास्थ्यविद् डा. सुरेश तिवारी बताउँछन्। संक्रमितलाई वर्गीकरण गर्नु पहिलो प्राथमिकता रहेको उनले बताए।
उनले भने, ‘लक्षणसहितका संक्रमित,माइल्ड, मोडरेड,सिभिएर,संवेदनशील र लक्षणबिनाका संक्रमित भनी वर्गीकरण गर्नुपर्छ। होम आइसोलेसन भने पनि लक्षण नभएको भनी त्यत्तिकै राखिएको छ।
यसले त होम आइसोलेसनमा बस्नेमा धेरै संकट पैदा गर्छ।’ जनस्वास्थ्यविद् तिवारीका अनुसार होम आइसोलेसनमा रहँदा चिकित्सकको निगरानी रहनुपर्छ। दैनिक संक्रमितको २ पटक ज्वरो र खोकी परीक्षण गर्नुपर्छ।
स्वास्थ्यकर्मीले संक्रमितको स्वास्थ्यको अपडेट राख्नुपर्छ। ‘घरमा रहेका संक्रमितको स्वास्थ्य अवस्था जुनसुकै समयमा परिवर्तन हुने भएकोले स्वास्थ्यकर्मीले हरबखत संक्रमितको निगरानी गर्नुपर्छ,’ उनले थपे।
संक्रमितलाई अप्ठयारो महसुस हुनासाथ अस्पताल भर्ना गर्न उनी सुझाउँछन्। हाेम आइसोलेसनमा बसेका संक्रमितले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने उनले धारणा राखे।
संक्रमण न्यूनीकरण गर्न स्थानीय सरकार सबैभन्दा बढी जागरुक हुनुपर्ने उनको भनाइ छ। होम आइसोलेसन स्थानीय सरकारको मातहतमा रहेकाले बढी जिम्मेवार हुनुपर्ने उनले प्रस्ट पारे।