वीरगंज | सरकारले क्वारेन्टिन व्यवस्थानका लागि एकिकृत क्वारेनटिन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमणको जोखिम बढ्दै गएकोले कोरोना नियन्त्रणका लागि थप व्यवस्थापन गर्न एकिकृत क्वारेन्टिन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।
उनका अनुसार समितिको संयोजकमा गृह सचिव रहने र स्वास्थ्य मन्त्रालयका उच्च तहका अधिकारी रहने र सदस्यहरुमा सामान्य प्रशासन मन्त्रालयले तोकेका सहसचिव, सहरी विकास तथा भवन निमार्ण विभागका महानिर्देशक, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रथम श्रेणीका अधिकारीहरु र क्वारेन्टिन रहने स्थानीय तहका प्रमुख तोकेका प्रतिनिधि सदस्य रहने छन् ।
उक्त समितिले काठमाडौंका तीन वटै जिल्लामा रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमार्फत क्वारेन्टिन स्थलको पहिचान र सञ्चालन गर्ने डा. खतिवडाले जानकारी दिए ।
समितिले क्वारेन्टिनको निर्माण र अतिआवश्यक कार्य गर्ने उनले बताएका छन् । उनका अनुसार क्वारेन्टिनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
उक्त क्वारेन्टिनमा विदेशबाट उद्धार गरेर ल्याइएका व्यक्तिहरुलाई राखिने र त्यसवापतको खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गरिने जनाइएको छ ।