वीरगंज । कोरोना संक्रमण नियन्त्रणका लागि राजधानीमा निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिएको छ ।अत्यावश्यक बाहेकका सवारीसाधन रोकिएपछि उपत्यका प्रवेश गर्ने पश्चिमी नाका नागढुंगामा सयौं मालबाहक सवारीसाधन रोकिएका छन् ।
राजमार्गमै अलपत्र परेका चालकहरूको खाना र पानी पनि नपाएर बिचल्ली भएको छ ।बुधबार राति १२ बजेपछि निषेधाज्ञा सुरु भएसँगै खाद्यान्न, तरकारी, औषधि, इन्धनलगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई मात्र उपत्यका प्रवेश गर्न दिइएको छ । यीबाहेक अन्य सामग्री बोकेर आएका मालबाहक सवारीसाधनलाई नागढुंगाबाटै फर्काउन थालिएको छ ।
नागढुंगाबाट फर्काइएका मालबाहक सवारीसाधनका चालक राजमार्गमै अलपत्र परेका छन् । पृथ्वी राजमार्गको नौबिसेनजिकै सडक किनारमा ट्रकभित्रै खाना पकाइरहेका उत्तम उप्रेतीले सरकारले अलपत्र पारेको गुनासो गरे । रौतहटबाट सोलारको ब्याट्री लिएर आएका उनी बिहीबार बिहान साढे ३ बजे नागढुंगा पुगेका थिए । ‘बिहान साढे ३ बजे नै पुगेका हौँ, तर छिर्न दिएन, फर्काइ दियो,’ उनले भने ।
हेटौंडाबाट सिमेन्ट लिएर आएका राजिन तामाङले पनि उपत्यका प्रवेश नपाएको गुनासो गरे । रातभर ट्रकमै बिताएका तामाङले बिहीबार दिनभर खाना खान पनि नपाएको बताए । ‘काठमाडौं छिर्न दिएनन् । यता सबै पसल बन्द छन् । बिहानदेखि खाना खान पाइएको छैन,’ उनले भने ।
राजमार्ग किनारमा लस्करै ट्रक रोकेर बसिरहेका चालकहरू उपत्यका प्रवेश गर्न पाउने प्रतीक्षामा छन् । राजमार्गका पसल पनि बन्द भएकाले उनीहरूले खानेकुरा पाएका छैनन् । ‘अब १० गतेपछि मात्र काठमाडौं छिर्न दिने भनेका छन् । त्यतिन्जेल त खान नपाएरै मर्छौँ,’ तामाङले भने, ‘एक ठाउँको सरकारी कर्मचारीले जाऊ भन्छ, अर्को ठाउँको सरकारी कर्मचारी रोक्छ । हामी मजदुरले दुःख पाउँछौँ ।’
सरकारी निकायले दिएको पास देखाउँदा पनि उपत्यका प्रवेश नपाएको प्रकाश श्रेष्ठले गुनासो गरे । उनी वीरगन्जको सुक्खा बन्दरगाहबाट कम्प्युटर र त्यसका सामग्री लिएर आएका हुन् ।
‘वीरगन्जको भन्सारले पास दिएर हामीलाई पठाएको हो, तर यहाँ आएर रोक्यो,’ श्रेष्ठले थपे, ‘हामीलाई पनि कोरोनाको जोखिम छ, तर रहरले त हामी पनि काममा आएका होइनौं । परिवार पाल्नुपर्छ । यसरी बाटोमा अलपत्र पार्यो भने त बर्बाद हुन्छ ।’
संक्रमणको जोखिम मोलेर सडक किनारमै बसिरहेका डिल्लीराज गिरीले यतै कोरोना सर्ने हो कि भन्ने डर लागेको बताए । नवलपरासीबाट सिमेन्ट बोकेर आएका उनले काठमाडौं प्रवेश गर्न पाएनन् । ‘यही रोडमै कोरोना लाग्ला जस्तो भइसक्यो,’ गिरीले भने, ‘खाना, पानी केही छैन । एक अर्कासँग माग्नुपरेको छ । यसरी नै कोरोना सर्छ कि भन्ने डर लागेको छ ।’ नयाँ पत्रिका दैनिकबाट