नयाँदिल्ली | नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विगत केही दिनयता चिन्ताजनक हिसाबले बढिरहेको छ । संक्रमण तीव्र भएपछि काठमाडौंमा बुधबार रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
संक्रमितको संख्या दिनहुँ बढ्दो छ, तर रोकथाम र नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय देखिएको छैन ।कोभिड–१९ संक्रमणको सन्दर्भमा केरला र नेपालबीच केही समानता छन् । भारतमा पनि पहिलो कोरोना केस केरलामै देखिएको थियो ।
जनवरी ३० मा भारतमा पहिलो कोरोनाको संक्रमण केरलामा पुष्टि भएको हो । ती संंक्रमित चीनको वुहानबाट फर्केका विद्यार्थी थिए । करिब साढे तीन करोड जनसंख्या भएको भारतको तटीय राज्य केरलाको आम्दानीको मुख्य स्रोत भनेको विप्रेषण नै हो । राज्यको कुल आयमा एक तिहाइ हिस्सा विप्रेषणको छ ।
त्यसमा केरलाको अंश करिब २० प्रतिशत रहने गरेको छ । नेपालको जस्तै केरलाका स्थानीयको पनि रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक हुन् । विश्वव्यापी कोभिड महामारीका कारण ठूलो संख्यामा केरलाका नागरिकहरू स्वदेश फर्केका थिए । केरलामा पुष्टि भएका संक्रमितमध्ये अधिकांश विदेशबाट आएकाहरू हुन् ।
यद्यपि केही स्थानमा समुदायमा पनि संक्रमण फैलिएको छ । तर पनि अन्य राज्यहरूको तुलनामा केरलामा संक्रमण कम देखिन्छ । बिहीबारसम्म केरलामा कुल संक्रमितको संख्या ५० हजार २ सय ३१ छ । भाइरसका कारण १ सय ८२ जनाको मात्र मृत्यु भएको छ । भारतका ३६ प्रदेश तथा केन्द्रशासित राज्यहरूमध्ये संक्रमणका हिसाबले केरला १३ औं स्थानमा छ भने मृत्यु संख्याका हिसाबले १४ औं स्थानमा छ ।
तर पछिल्ला दिनमा संक्रमण उच्च दरले बढिरहेको छ । तर, त्यहाँ खासै भयको वातावरण छैन । संक्रमण फैलावट र मृत्युदर कम किन भयो त केरलामा ? किन भयको वातावरण छैन ? यसको प्रमुख कारण भनेको केरलाको स्वास्थ्य पूर्वाधारसँगै राज्य सरकारको प्रभावकारी भूमिका हो ।
भारत सरकारका लागि नीति निर्माण गर्ने थिंक ट्यांक नीति आयोगले स्वास्थ्य सूचकांकमा केरला पहिलो नम्बरमा राखेको छ । विशेषगरी आपत्कालीन स्वास्थ्य सेवाका लागि केरला निकै सफल मानिएको छ । विश्व स्वास्थ्य संगठनले पनि कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि चालेका प्रभावकारी कदमका लागि केरलाको प्रशंसा गरिसकेको छ ।
भाइरसविरुद्ध लड्न राज्य सरकारले अंगीकार गरेको रणनीतिलाई केलाउने हो भने पनि धेरै कुरा प्रस्ट हुन्छ ।
राज्य सरकारले विशेषगरी प्रभावकारी सञ्चार, स्वास्थ्य क्षेत्रका जनशक्तिको दक्षता अभिवृद्धि र परिचालन तथा सरोकारवाला निकायबीचको समन्वयलाई प्राथमिकतामा राखेको देखिन्छ । सबैभन्दा माथि मुख्यमन्त्रीको नेतृत्वमा आवश्यक निर्णय लिन, समन्वय र परिचालन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । यसमा निर्णायक भूमिका रहेको छ राज्यकी स्वास्थ्यमन्त्री केके शैलजाको ।
कोभिड–१९ को महामारीविरुद्ध लड्ने जिम्मेवारी पूरै उनको नेतृत्वमा छ । प्रदेश मुख्यसचिवको नेतृत्वमा कन्ट्रोल रुम छ । त्यसकै मातहतमा प्रत्येक जिल्लामा आपत्कालीन कन्ट्रोल रुमहरू बनाइएको छ । त्यसअन्तर्गत स्थानीय तहका सरकारहरूसँग समन्वय गर्ने गरिएको छ । भाइरससम्बन्धी चेतना विस्तारमा विशेष जोड दिइएको थियो । दिल्लीबाट आफ्नी आमालाई भेट्न केरला पुगेकी द टेलिग्राफकी वरिष्ठ संवाददाता अनिता जोसुवाको भनाइमा केरलामा स्थानीय तह र राज्य सरकारबीचको समन्वयले सकारात्मक नतिजा दिएको हो ।
राज्यमा कोरोना संक्रमणको साङ्लो तोड्न ‘ब्रेक द चेन’ नामक विशेष अभियान नै चलाइएको छ । अनिताले पनि स्थानीय सरकारका प्रतिनिधिहरूको भूमिका प्रशंसनीय रहेको बताइन् । ‘स्थानीय जनप्रतिनिधिहरू, स्वयंसेवकका साथै नागरिकहरूको परिचालन राम्रो भएर नै केरलामा सरकारको काम प्रभावकारी देखिएको थियो,’ उनले भनिन् ।
केरला सरकारले कन्ट्याक्ट ट्रेसिङलाई सबैभन्दा बढी प्राथमिकतामा राखेको छ । अन्य राज्यहरूबाट होस् वा विदेशबाट आउने सबैले केरला आउनुअघि नै घर कसरी जाने भन्ने खुलाउनुपर्छ ।
त्यसैगरी प्रवेश विन्दुमै अनिवार्य रूपमा आफ्नो मोबाइलमा केरला सरकारको कोभिड–१९ सम्बन्धी एप राख्नुपर्छ । त्यतिमात्र होइन, सबैलाई १४ दिन क्वारेन्टाइन अनिवार्य गरिएको छ । यदि कसैको घरमा वृद्धवृद्धा र साना बच्चाहरू छन् त्यस्तो अवस्थामा सामुदायिक केन्द्रमा गएर बस्नुपर्छ । यदि कोही घरमै बसेको छ उसलाई आवश्यक पर्ने सबै कुरा तिनै स्वयंसेवकहरूले घरमै पुर्याइदिन्छन् । त्यसको जिम्मा वडाका कर्मचारी र स्थानीय स्वयंसेवकहरूलाई दिइएको छ ।
क्वारेन्टाइन सेन्टरमा बस्नेलाई तीन छाक खानाको व्यवस्था गरिएको छ । स्वास्थ्य अवस्था र केही आवश्यक छ कि भनेर स्थानीय जनप्रतिनिधि र जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरूले दिनमा तीन पटकसम्म फोन गरेर बुझ्ने गरेको अनिताले बताइन् ।
त्यसैगरी, भाइरसको संक्रमण पुष्टि भएकालाई कोभिड उपचार केन्द्रमा राख्ने गरिएको छ । संक्रमण पुष्टि भएका कसैले पनि घरमा बस्न पाउँदैन । संक्रमण फैलिनबाट रोक्न मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई १० हजारसम्म जरिवाना गरिन्छ । सार्वजनिक स्थलहरूमा नि:शुल्क मास्क वितरण गर्ने गरिएको छ ।
बसलगायत सार्वजनिक सवारीहरूमा निश्चित दूरी कायम गरिएको छ । पछिल्ला दिनमा संक्रमितको संख्यामा तीव्र देखिए पनि आमनागरिकमा भयको वातावरण नरहेको अनिताले बताइन् । त्यसका पछाडि सबै तहका सरकारप्रतिको विश्वासले काम गरेको उनको भनाइ छ ।
‘जनतामा स्थानीय सरकारदेखि राज्य सरकारसम्म आफूहरूका लागि दिलोज्यानले काम गर्छ भन्ने विश्वास छ, त्यही भएर नै संक्रमण बढे पनि धेरै भय छैन,’ उनले भनिन् । साथै उनले विगतमा तयार गरिएको स्वास्थ्य संरचनाहरूको पनि ठूलो भूमिका रहेको बताइन् । ‘महामारी देखियो भन्दैमा रातारात सबै तयार गर्न सकिँदैन यसका लागि विगतदेखि नै तयारी गर्नुपर्छ भन्ने सन्देश पनि केरलाले दिएको छ,’ उनले भनिन् ।
त्यस्तै, राज्य सरकारले नागरिकलाई भाइरससम्बन्धी सबै सूचना सम्प्रेषण गर्न विशेष पोर्टल नै चलाएको छ । त्यसमा राज्य सरकारलाई प्राप्त सहयोगदेखि महामारीसम्बन्धी सबै जानकारी उपलब्ध छन् । त्यसले राज्यको महामारीको पछिल्लो तस्बिर र सरकारले चालेका कदमहरूको सम्पूर्ण जानकारी पाउन सकिन्छ ।kantipur