बीरगन्ज।नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ। गत २४ घण्टामा ७ सय ७ जना थपिएसँगै कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
५२ जिल्लाका १ सय ९२ महिला र ५ सय १५ महिला गरी ७ सय ७ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। यसअघि बुधबार ३९ जिल्लामा मात्र कोरोना संक्रमित भेटिएका थिए।
गत २४ घण्टामा प्रदेश २ को ८ जिल्लामा २ सय ४८ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। धनुषामा ३१, पर्सामा ५५, बारामा ८, महोत्तरीमा १५, रौतहटमा ६,सप्तरीमा १९, सर्लाहीमा ९३ र सिरहामा २१ जना संक्रमित भेटिएका छन्।
कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ६ सय २७ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ५ लाख ६६ हजार १५ जना पुगेको छ।
कुल संक्रमितमध्ये हाल ११ हजार ५ सय ५५ सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या ११ हजार ७ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ।