वीरगञ्ज। लकडाउन र निषेधाज्ञाको समयमा पनि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सारले राजस्व असुलीको लक्ष्य भेट्टाएको छ । यो भन्सारले चालु आर्थिक वर्षको पहिलो अर्थात् साउन महिनामा लक्ष्यभन्दा बढी राजस्व असुली गर्न सफल भयो ।
साउन महिनाका लागि १ अर्ब ७८ करोड २७ लाख ८४ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा यो भन्सारले लक्ष्यभन्दा ४ दशमलब ६७ प्रतिशत अर्थात् १ अर्ब ८६ करोड ६० लाख ८५ हजार रुपैयाँ राजस्व असुल गरेको छ ।
कुल संकलित राजस्वमा भन्सार महसुल ९८ करोड ७ लाख रुपैयाँ असुली गर्ने लक्ष्य रहेकोमा ८२ करोड २८ लाख रुपैयाँ, मूल्य अभिवृद्धि कर ५२ करोड २४ लाख रुपैयाँ असुलीको लक्ष्य रहेकोमा ९२ करोड ९९ लाख रुपैयाँ र अन्तः शुल्क २५ करोड ७१ लाख रुपैयाँ असुलीको लक्ष्य रहेकोमा १० करोड १२ लाख रुपैयाँ असुली भएको छ ।
भन्सार प्रमुख उमेश श्रेष्ठले साउन महिनामा लक्ष्य नै कम रहेकाले सहजै राजस्व असुली लक्ष्य भेट्टाइएको बताए । लामो लकडाउन र निषेधाज्ञाका कारण भन्सार विभागले कार्यालयको राजस्व असुली लक्ष्य संशोधन गरी नयाँ लक्ष्य दिइएको थियो ।
सामान्य अवस्थामा यो भन्सारले मासिक ३ अर्ब रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ । तर, जिल्लामा जारी निषेधाज्ञाको कारण भन्सारको कामकाज नै प्रभावित भएकाले साउन महिनाको लक्ष्य झन्डै आधाले घटाइएको हो । यो नाकाबाट सामान्य अवस्थामा फलाम, गेडागुडी, मदिरा जस्ता वस्तु आयात हुने गर्छन् ।