वीरगञ्ज। प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेको भन्दै बैंकर्स संघले बिहीबार उपत्यकाका सबै शाखा बन्द गरेको छ।
बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्माले बैंक तथा वित्तीय संस्थाका सिमित शाखा खोल्न दिने मंगलबार साँझ स्थानीय प्रशासन, राष्ट्र बैंक र बैंकहरुबीच सहमति भए पनि प्रहरीले कार्यालय वा कार्यालयको कामले हिँडिरहेका कर्मचारीलाई रोकेपछि उपत्यकाका सबै सबै शाखा बन्द गरिएको जानकारी दिए।
उनले बैंक तथा वित्तीय संस्थाहरु अत्यावश्यक सेवाभित्र पर्ने भए पनि प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई बाटैमा रोकेको बताए।
उनले भने, ‘बैंकका सबै कर्मचारीहरुलाई बाटोमा नै रोकपछि उहाँहरु कार्यालय पुग्न सक्नुभएन। कर्मचारी नभएपछि बैंक खोल्न सम्भव हुँदैन। त्यसैले आज उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरु बन्द छन्।’
बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेसहित केही कर्मचारीलाई बाटोमा प्रहरीले रोकेको थियो। उनिहरु प्रसुती गृह नजिकै सेवा दिने बैंकका कर्मचारीलाई स्वास्थ्य सामग्री दिन त्यहाँ जाँदै थिए।
२०/२५ मिनेट पाण्डेलाई रोकेर छाडेपनि प्रहरीले अन्यलाई भने लामो समय रोकेको थियो। प्रहरीले बैंकका कर्मचारीलाई आवतजावत गर्न दिनेबारे आफूलाई कुनै जानकारी नभएको बताएपछि बैंकका कर्मचारीहरु रुष्ट बनेका थिए।
बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्माले भोलिदेखि आवतजावत सहज भएमा उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाहरु खोल्ने बताए। सरकारले उपत्यकाभित्र बुधबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरेको छ।