एजेन्सी । बलिउड अभिनेता बबी देओलको चलचित्र ‘क्लास अफ ८३’ यही अगस्त २१ मा नेटफ्लिक्समार्फत प्रिमियर हुँदै छ । उनी पछिल्लो केही वर्षदेखि काममै व्यस्त छन् । तर एक समय यस्तो आएको थियो कि धमेन्द्रका छोरा बबीले करियरमा आएको उतार–चढावले दिएको तनावको सहारा मदिरा बनाउन थालिसकेका थिए ।
सन् १९९५ मा चलचित्र ‘बरसात’ बाट देब्यु गरेका बबीको त्यसपछि ‘सोल्जर’, ‘अजनबी’ र ‘हमराज’ जस्ता हिट चलचित्रहरू आए । यद्यपि कुनै समय यस्तो पनि आएको थियो कि बबीलाई बलिउडमा देख्नै छाडिएको थियो । उनको अभिनय करियर ओरालो लाग्दै गयो ।
करियरको ओरालोका कारण डिप्रेसनमा गएका बबीलाई उनीसँग कोही पनि काम गर्न नचाहने महसुस हुन थालेको थियो । मिडियासँगको कुराकानीमा बबीले त्यो निराशाजनक समयबारे बताएका थिए । त्यो समयमा दिनरात नशा अर्थात् मदिरा पिउने बानी भएको उनले बताए ।
त्यो समय बबीको दैनिकी भनेकै कतै नजाने घरमै बस्ने र मदिराको लतमा हुने भइसकेको थियो । तर एकदिन परिवारका सदस्यहरुको आँखामा आफ्नो अवस्थाका कारण निम्तिएको पीडाले आफूलाई त्यो नराम्रो बानीबाट उम्किन हिम्मत मिलेको पनि बबीले बताए ।
बबी भन्छन्,“ मेरो बच्चा, आमा र श्रीमतीको आँखामा भएको पीडा मैले देखेँ, जसले ममा परिवर्तन ल्यायो । मलाई लाग्यो कि यदि म अगाडि बढ्न चाहन्छु भने कोही अरूको प्रतीक्षामा बस्नु हुन्न र करियरलाई उठाउन म आफैंले प्रयास गर्नुपर्छ भन्ने महसुस भयो ।”
त्यसपश्चात् बबीले आफूलाई त्यो बानीबाट मुक्त गराए र सन् २०१८ मा रिलिज भएको चलचित्र ‘रेस ३’ बाट पुनः बलिउडमा फर्किए । सम्भवतः त्यसपश्चात् बबीले पछाडि फर्किएर हेर्नुपरेको छैन र उनी अभिनयमा व्यस्त छन् । (नवभारत टाइम्स)