सामाजिक सम्बन्धभन्दा ‘भर्चुअल’ दुनियाँमै रमाउने अलिहेको पुस्तालाई विश्वभर महामारी बनेको कोरोना भाइरसले झन् कोठामै थन्किन बाध्य बनाएको छ। अनि, झनै फस्टायो ‘भर्चुअल’ उपस्थिति र इलेक्ट्रोनिक डिभाइसको प्रयोग। विश्वव्यापी लकडाउन र सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले इन्टरनेटमा मानिसको उपस्थिति बाध्यात्मक बन्यो। सामाजिक जीवनबाट बिस्तारै टाढिँदै गएको पुस्तालाई कोरोना महामारीले झनै भर्चुअल दुनियाँको दलदलमा चुर्लुम्मै डुबायो।
‘अनलाइन क्लास’को बढ्दो लहरले आगामी पुस्ता झन् इन्टरनेटको दलदलमा फस्ने सम्भावना प्रष्ट देख्छन, मनोविश्लेषक बासु आचार्य। त्यही कारण बालबालिकामा डिजिटल लत नलागोस् भनेरै विद्यायलहरूले विश्राम लिँदै दिनमा दुई/तीन वटा मात्र अनलाइन क्लास गरेको उनको बुझाई छ।
“विद्यालयले अहिले दिनमा सात/आठ वटा नै क्लास नगर्नुको कारण त्यही बालबालिकालाई लत नलागोस् भनेर हो,” उनले देखापढीसँग भने, “विश्राम गरेर क्लास लिँदा उनीहरूलाई लत लाग्ने सम्भावना कम हुन्छ र आँखा कमजोर हुनबाट पनि तुलनात्मक रूपमा जोगाउँछ।”
कोरोना महामारीका कारण विश्वको अर्थतन्त्रमा परेको असरले नेपाली व्यापार पनि प्रभावित हुने अनुमान थियो। बजार ठप्प हुने अडकालबाजीहरू गरिएका थिए। अरु धेरै क्षेत्रमा त्यस्ता अनुमानहरू प्रमाणित भए। तर, डिजिटल दुनियाँका लागि भने कोरोना महामारी थप अवसर लिएर आयो। साउन ७ गतेबाट लकडाउन खुकुलो भएपछि नेपाली बजारले मोबाइल, ल्यापटप लगायतका ग्याजेट्सको डिमान्ड धान्न नसक्ने अवस्था सिर्जना भयो।
“यसबाट भर्चुअल दुनियाँमा नेपालीको उपस्थिति र इन्टरनेटप्रतिको बढ्दो ‘डिपेन्डेन्सी’ खुलस्त हुन्छ। सँगै, यसले युवा पुस्ता नजानिकनै इन्टरनेट र इलेक्ट्रोनिक ग्योजेटप्रतिको ‘एडिक्सन’मा फसिरहेको तथ्य स्थापित हुन्छ,” मनोविश्लेषक आचार्य भन्छन्, “हामी इन्टरनेट र भर्चुअल दुनियाँप्रति फस्दैछौँ। ‘मिस युज’ गर्दैछौं। इन्टरनेटको ‘डिपेन्डेन्सी’मा बसेका छौं। यसले हामीलाई ठूलो असर पुग्छ।”
अलिहेको पुस्ता भर्चुअल दुनियाँको दलदलमा फस्नु मानव सभ्यताका लागि नै जोखिमपूर्ण हुने आचार्य बताउँछन्। क्षणिक खुशी दिने भर्चुअल दुनियाँले हाम्रो जीवनको सुन्दरता निरन्तर घटाउँदै लगेको उनको बुझाई छ। पछिल्लो समय इन्टरनेटको बढ्दो प्रयोगले मानिसलाई यसैतर्फ एकोहोरो बनाउने रोग पनि देखिन थालेको छ। बालबालिका तथा वयस्क पनि इन्टरनेट नचलाई बस्न नसक्ने समस्याबाट ग्रसित हुन थालेका छन्। मनोविज्ञहरूले त्यस्तो समस्यालाई ‘इन्टरनेट एडिक्सन डिसअर्डर’ को नाम दिएका छन्।
“इन्टरनेटको लत नै इन्टरनेट एडिक्सन डिस्अर्डर हो,” मानसिक रोग विशेषज्ञ रितेश थापा भन्छन्, “थाहै नपाई इन्टरनेटको लत बसिसकेको हुन्छ। मोबाइलमा भएको दुनियाँमा हराउँदा–हराउँदै यो समस्या हामीमा आइसकेको हुन्छ।” तर, काम वा पढाईका लागि प्रविधिको प्रयोग गर्दा भने एडिक्सन नहुन सक्ने उनी बताउँछन्। विशेष गरी युवा पुस्तामा देखिएको अनलाइन गेमिङको लतलाई भने इन्टरनेट एडिक्सनको रूपमा लिन सकिने उनी बताउँछन्।
नियमित काम तथा पढाई नै छाडेर गेममा लाग्नु जस्ता कृयाकलाप इन्टरनेट एडिक्सनका लक्षण हुन्। “सामान्यतया हाम्रो दैनिक जीवनमा इन्टरनेटको अभाव महसुस हुन थाल्यो भने त्यसलाई इन्टरनेट एडिक्सन भनेर बुझ्न सकिन्छ,” डा. थापाले थप प्रष्टयाए।इन्टरनेटको अत्यधिक प्रयोगबाट मानिसमा पर्ने प्रभाव तुरुन्तै नदेखिए पनि यसले भविष्यमा ठूलो समस्या ल्याउने जानकारहरू बताउँछन्।
“इन्टरनेटमै काम गर्नुपर्ने बाहेकका मानिसले समय बिताउनका लागि मौका पाउने बित्तिकै इन्टरनेट प्रयोग गरिहेको पाइन्छ। त्यो आवश्यक होइन,” विश्लेषक आचार्य भन्छन्, “यसले मानिसलाई दीर्घकालिन रूपमा धेरै क्षति पुर्याउँछ।” कालान्तरमा यसको नकरात्मक प्रभाव मानिसको प्रत्यक्ष जीवन र स्वास्थ्यमा पर्ने उनले बताए। अत्यधिक इन्टरनेट र इलेक्ट्रोनिक ग्याजेट्सको प्रयोगले ‘मूड’ खराब हुने, रिस, बेचैनी, र नैराश्यतासँगै परनिर्भरता बढ्ने जस्ता समस्या देखिने विश्लेषक आचार्य बताउँछन्।
“जीवन भोगाई र व्यवहार सिक्ने समयमा जतिखेरै अनलाइनमा हुँदा मानिसहरू व्यावहारिक जीवन सिक्नबाट चुकिरहेका हुन्छन्,” उनी भन्छन्, “यसले समाजमा घुलमिल हुन मानिसलाई एकदमै समस्या हुन्छ। कसैले भनेको कुरा सहन नसक्ने बानीको विकास हुन्छ।”
यसबाट सुरक्षित रहन सकिन्न ?
पक्कै सकिन्छ।
डा. आचार्य सुझाउँछन्, “भर्चुअल दुनियाँको क्षणिक खुशीमा रमाउन खोज्दा छुटिरहेको सामाजिक जीवनमा फर्किनु सबभन्दा उत्तम उपाय हो। आम मानिसहरूलाई यसको जोखिमबारे जानकारी हुँदैन। त्यसैले डिजिटल संसारको जोखिमबारे जनचेतना जगाउनुपर्छ।”
विज्ञहरूका सुझावविपरित मानिसले पछिल्लो समय इन्टरनेटको भर्चुअल दुनियाँलाई जीवनको अभिन्न अङ्ग मान्न थालेका छन्। सामाजिक सञ्जालको सक्रियतालाई जीवाशैली बनाइरहेको ‘आधुनिक’ पुस्ता फेसबुक, ट्विटर, टिकटक लगायतका भित्तामै रमाइरहेको छ।
“सामाजिक जीवनबाट टाढा भागिरहँदा भोलि मानिसले खुशी हुन सिक्नुपर्ने अवस्था आउँछ,” मनोविश्लेषक आचार्य भन्छन्, “त्यतिबेला सिकाई सहज हुँदैन। मानिसले धेरै दुःख पाउँछ। भर्चुअल दुनियाँले ‘मलाई सिध्याउँदै छ’ भन्ने कुरा बुझ्न जरुरी छ।”
गर्ने चाँही के त ?
इन्टरनेटको प्रयोगलाई लतमा परिणत हुन नदिन ‘डिजिटल फास्टिङ’ लगायतका कुरा अपनाएर अन्य ‘प्रोडक्टिभ’ कार्यमा आफूलाई व्यस्त राख्नु उचित हुने विशेषज्ञ थापा बताउँछन्। “हामीले ब्रत बस्दा खानेकुरा नखाएजस्तै निश्चित समय वा दिनमा इन्टरनेट तथा डिजिटल ग्याजेट्सहरू नचलाएर लत लाग्नबाट रोक्न सकिन्छ। यसलाई ‘डिजिटल फास्टिङ’ भनिन्छ,” विशेषज्ञ थापा भन्छन्, “जब दैनिक जीवनमा नै इन्टरनेटले असर पुर्याउन थाल्छ, हामीले एडिक्सन हुन थाल्यो भन्ने बुझ्दा हुन्छ। र, हामीले यसबाट बच्न मन भुलाउने विभिन्न तरिकाहरू अपनाउन सक्छौं।”
आपसमा कुराकानी गर्ने, नाच्ने, गाउने, चित्र कोर्ने, लेख्ने, पढ्ने, बगैचामा काम गर्ने, परिवारसँग समय बिताउनेजस्ता काममार्फत ‘इन्टरनेट एडिक्सन डिसअर्डर’बाट छुट्कारा पाउन सकिने विशेषज्ञ थापाले बताए। “बालबालिकाको हकमा अभिभावकले समय नदिएको अवस्थामा यस्तो समस्या देखिन सक्छ। त्यसैले उनीहरूलाई पर्याप्त समय दिनुपर्छ,” विशेषज्ञ थापाको सुझाव छ, “परिवारमा समय दिने मान्छेको अभाव भएका बालबालिकाहरूमा यस्तो समस्या धेरै देखिने गरेको छ।”