आज नारायणी, कर्णाली, महाकालीका सहायक नदीमा बहाव बढ्ने क्रममा रहेकाले कान्द्रा, मोहना, खुट्टिया, मछेली, सुहेली, चौधर, रंघुनलगायतमा नदीमा बाढी आउने महाशाखाले जनाएको छ ।
यी नदीमा बाढी आउने भएकाले दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी भई बहने साना नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन महाशाखाले आग्रह गरेको हो ।
आज दिउँसो देशभरिकै मौसम सामान्यतया बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै आज राति देशभरिकै मौसम सामान्य बदली भई वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी परे पनि अरु प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने उहाँको अनुमान छ ।
ठूलो पानी पर्ने क्रम भोलि र पर्सिलाई भने अलि कम हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
अन्तिम अपडेट: भदौ ४, २०७७