संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगका अनुसार यो वर्ष लिबियामा डुंगा ध्वस्त हुँदा कम्तीमा ४५ जना आप्रबासी तथा शरणार्थीको मृत्यु भएको बताएको छ ।
ज्यान गुमाउनेमा पाँच बालबालिका पनि रहेका छन् । यसरी मृत्यु हुनेमा अधिकांश ज्वारा तटीय क्षेत्रमा ८० जना सवार डुंगाको मेसिन बिस्फोट हुँदा भएको दुर्घटनामा परेका रहेको युएनएचसिआरले जनाएको छ ।
स्थानीय मछवारले उद्धार गरेका ३७ जनाले दिएको जानकारी अनुसार मृतकको संख्या थाहा भएको हो । युएनएचसिआर र आप्रबासीका लागि अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले आप्रबासीको खोजी तथा उद्धारको प्रयासलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।
व्यवस्थित खोजी अभियानको अभावमा भूमध्य सागरमा धेरै आप्रवासीको ज्यान जाने चेतावनी उनीहरुले दिएका छन् ।
यो वर्ष समुद्र पार गरेर लिबियाबाट युरोप प्रवेश गर्ने क्रममा ३०० जना भन्दा बढी मानिसको ज्यान गएको छ । तर ज्यान गुमाउनेको संख्या त्यो भन्दा बढी हुन सक्ने सम्भावना रहेको आप्रबासी संगठनको भनाई छ ।