महोत्तरी | महोत्तरीको मनरा सिसवा नगरपालिका–९ बथनाहास्थित नेपाल–भारत सिमामा दूर्लभ मूर्ति भेटिएको छ। माछा मार्न गएका स्थानीय २२ वर्षीया बलिंदर सदाले नेपाल भारतको सिमास्थित बुद्धको जस्तो देखिने दूलर्भ मूर्ति फेला पारेका हुन्। मूर्ति भगवान बुद्ध स्वरुपमा देखिएको छ।
भारतीय क्षेत्र सशराम गाउँको नहर नजिकै मूर्तिफेला पारे पनि सदाले मूर्ति आफ्नो घरमा ल्याएका थिए। सदाले मूर्ति घरमा ल्याएको हल्लापछि भारतीय एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर सोधपुछका लागि भन्दै उनलाई नियन्त्रणमा लिएको छ।
पारिवारिक श्रोतका अनुसार माछा समात्न खोज्दा दूर्लभ मूर्ति सदाको हातमा परेको स्थानीय सत्येन्द्र यादवले बताए। मूर्तिको लम्बाई लगभग डेढ फिट लामो तथा १५ किलो वजन बराबरको भएको नेकपा युवा नेता सत्येन्द्र यादवले बताए।
‘भारतीय सुरक्षाकर्मीले पोशाकसहित नेपाली भूमिमा प्रवेश गरेर नेपालीलाई नियन्त्रणमा लिनु आपत्तिजनक छ’, उनले भने। यता स्थानीय प्रहरी चौकी र सशस्त्र प्रहरीको प्रमुख एसएसबीको क्याम्पमा सदालाई समातेको विषयमा सोधखोज गर्न पुग्दा मूर्ति फिर्ता पाए सदालाई छोड़ने भारतीय एसएसबीले बताएका छन्।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सदालाई छोडाउन काउन्टर पार्ट छलफल चलिरहेको बताए। उनले मूर्तिको प्रमाण पुग्ने देशसँग मूर्ति हुने भएपनि हाललाई मूर्ति अनुसन्धानको लागि आफ्नै देशमा रहने बताए।
‘भारतीय एसएसबीसँग हाम्रो कुरा हुँदैछ’, उनले भने, ‘उनीहरुले मूर्तिको सम्बन्धमा सोधपुछका लागि लगेको स्वीकार गरेका छन्। उनको छिटो रिहाइको पहल गर्दैछौँ।’