विराटनगर । विराटनगरको कोसी कोभिड १९ उपचार केन्द्रमा न्यूनतम स्वस्थ्य सुविधासमेत नदिई लापरवाही गर्दा मृत्यु हुन गएको भन्दै परिवार न्याय माग्न अदालत पुगेको छ ।
कोभिड अस्पतालमा मृत्यु भएका नेपाल विद्युत प्राधिकरणका कर्मचारी सिताराम दाहालकी छोरी निलिमा दाहालले उच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन ।
कोरोना संक्रमण पुष्टि भएपछि दाहाल गत साउन २६ कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । तर, अस्पताल गई स्वास्थ्य अवस्थाबारे बुझ्दा सामान्य अवस्थामा रहेको भने दाहलले बताएकी छन् । तर, साउन २८ गते भेट्दा स्वास्थ्यकर्मीले सोधीखोजी नगर्ने र असामान्य अवस्था हुँदासमेत वास्ता नगरेको बताएकै साँझ निधन भएको निलिमाको भनाइ छ ।
परिवारका तर्फबाट छोरीले ‘अस्पतालबाट लापरवाही र आधारभूत स्वास्थ्य उपचारसमेत नदिइँदा आफ्नो बुबाको मृत्यु हुन पुगेकोले दोषी उपर कारवाही गर्न उच्च अदालतमा अन्तरिम आदेशसहितको परमादेश’को लागि निवेदन दिएकी हुन् ।
संक्रमण पुष्टि भएका दिदी र आमालाई पनि अस्पतालमा राख्न अनुरोध गर्दा असुरक्षित रुपमा घरमै बस्न बाध्य भएको रिट निवेदनमा उल्लेख छ । ५७ वर्षीय दाहाललार्य श्वासप्रश्वासमा समस्या हुँदासमेत अक्सिजन तथा भेन्टिलेटर उपलब्ध नगराएको परिवारको भनाइ छ ।
रिट निवेदनमा सामाजिक विकास मन्त्रालय स्थित कोभिड १९ निगरानी तथा तथ्यांक संकलन तथा अनुगमन सचिवालय, प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, मन्त्रालयकै कोभिड १९ संकट व्यवस्थापन केन्द्र, विराटनगर महानगरपालिका जनस्वास्थ्य विभाग, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, मेची अस्पताल भद्रपुरसमेतलाई विपक्षी बनाइएको छ । निवेदनउपर उच्च अदालतमा बिहीबार सुनुवाई हुने बताइएको छ ।