वीरगंज। प्रहरी प्रधान कार्यालयले १२ भदौ अघि कोरोना भाइरस संक्रमण पुष्टि भएका प्रहरीको ‘बिमा सुविधा’बारेमा उचित निर्णय हुने जनाएको छ । प्रहरी हेड्क्वार्टरले भदौ १२ पछि संक्रमण हुने प्रहरीका लागी मात्रै १ लाखको ‘कोरोना बिमा’ गरेको र त्यसबाट ६ सय ३८ भन्दा बढी संक्रमित सुक्षाकर्मी अन्यायमा परेको समचार रातोपाटीले प्रकाशन गरेको थियो ।
समाचार प्रकाशन गर्दा ६ सय ३८ संक्रमित थिए, अहिले सो संख्या बढेको छ । बिमा पोलिसी लागु हुनुअघि संक्रमण पुष्टि भएका प्रहरीको सेवा सुविधा सम्बन्धमा सरकारको निर्णय बमोजि हुने भन्दै प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘पोलीसी लागु हुनुअघि संक्रमण भएका प्रहरी कर्मचारीको हकमा प्रहरी प्रधान कार्यालयबाट समेत उच्च प्राथमिकतामा राखी यस सम्बन्धमा उचित निर्णय लिईने छ ।’
साउन ३० मा प्रहरी प्रधान कार्यालयले जारि गरेको सर्कुलर अनुसार भदौ १२ भन्दा अगाडी कोरोना भाईरस पोजेटिभ देखिएका प्रहरीको बिमा गरिएको छैन् ।
भदौ १२ पछि संक्रमण पुष्टि भएका प्रहरीले मात्रै आफु कार्यरत युनिटको सिफारिसको आधारमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा बिमा रकम दावी गर्न पाउनेछन् ।
भदौ १२ अघि संक्रमण पुष्टि भएका कर्मचारीको बिमा गर्न नसक्नुको कारण खुलाउँदै प्रहरी प्रधान कार्यालयले बजेट बक्तब्य र अर्थ मन्त्रालयको निर्णय अनुसार बिमा गरिएको दावी गरेको छ ।
बिमा समितीको सुचना अनुसार अग्रसरता लिएर साउन २९ मा रुजु हाजिर रहेका सवै प्रहरीको १ लाखको बिमा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बीमा कम्पनीको नीति अनुरुप बीमा गराएको १५ दिनपछि मात्र बीमा लेख ग्राह्य हुने हुनाले भदौ १२ पछी संक्रमण पुष्टि भएका प्रहरीले बिमा रकम दावी गर्न पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।