वीरगंज। नोभेल कोरोना भाइरसको महामारीकाबीच अमेरिकामा राष्ट्रपति निर्वाचनको सरगर्मी बढेको छ । नोभेम्बर ३ मा राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिकतर्फबाट जो बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपतिका उम्मेदवार घोषणा गरिएको छ ।
पार्टीको राष्ट्रिय सम्मेलनको दोस्रो दिन डेमोक्रेटिक पार्टीले पूर्वउपराष्ट्रपति जो बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । कोरोना भाइरसको महामारीका कारण डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन यो पटक पूर्ण रुपमा अनलाइनमार्फत भएको छ ।
बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघि बाइडेनले आफ्नो ‘रनिङ मेट’का रुपमा कमला ह्यारिसलाई घोषणा गरेका छन् । यसअघि ह्यारिस र बाइडेनले गरेको संयुक्त सम्बोधनमा ट्रम्प अमेरिकाको असफल राष्ट्रपति भएकोभन्दै आलोचना गरेका थिए ।
उनीहरुले अमेरिकालाई ट्रम्पले विमाजित गरेकोसमेत आरोप लगाएका थिए । सोमबारको सम्बोधनमा पूर्व प्रथम महिला मिसेल ओबामाले पनि ट्रम्प अमेरिकाका लागि गलत राष्ट्रपति भएको बताएकी थिइन् ।
ह्वाइट हाउस जाने तेस्रोपटक प्रतिसपर्धा गरिरहेका बाइडेन मत सर्वेक्षणमा ट्रम्पभन्दा निकै अगाडि छन् । बाइडेनलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बनेका बिल क्लिन्टन र जिमी कार्टरले पनि समर्थन गरेका छन् ।
पार्टीको सम्मेलनको दोस्रो दिन मंगलबार पूर्वराष्ट्रपति क्लिनटनले सम्बोधन गरेका थिए । भिडियोमार्फत पठाइएको सन्देशमा उनले ट्र्म्पको चर्को आलोचना गरे । ट्रम्पले ओभल अफिसलाई ‘लथालिंग’ बनाएको क्लिन्टनको टिप्पणी थियो ।
डोनल्ड ट्रम्पले अमेरिकाले विश्वको नेतृत्वको गरिरहेको दाबी गरे पनि प्रमुख औद्योगिक अर्थतन्त्रमा अमेरिकामा बेरोजगारी दर तीनगुना भएको भन्दै क्लिन्टनले भने, “यो समयमा ओभल अफिस नेतृत्वको केन्द्र हुनुपर्थ्यो । तर त्यो आँधीको केन्द्र भएको छ । त्यो लथालिंग छ ।”
बाइडेनलाई रिपब्लिनको पनि समर्थन
रिपब्लिकन पार्टीको सरकार हुँदा विदेशमन्त्री रहेका कोलिन पावलले पनि जो बाइडनलाई समर्थन गरेका छन् । अमेरिकी सेनाका पूर्वप्रमुख पावलले बाइडनको प्रशंसा गर्दै उनमा सैन्य सेवामा हुँदा सिकेको मूल्य र मान्यता भएका बताए ।
ती मान्यताहरू ‘पुनर्स्थापित गर्नुपरेकाले’ आफूले बाइडनलाई समर्थन गरेको स्पष्ट पारे । जर्ज डब्लू बुसको सरकारमा काम गरेका पावलले गत जुनमा ट्रम्पलाई ‘ढँटुवा’ भन्दै बाइडनलाई समर्थन गरेका थिए ।
अन्य ६ रिपब्लिकन नेताहरूले पनि बाइडनलाई समर्थन गरेका छन् । ओहायो राज्यका गभर्नर जोन कासिचले सोमबार डेमोक्रेटिक उम्मेदवार बाइडनलाई सघाउने घोषणा गरेका हुन् ।
बराक ओबामाको सरकारमा विदेशमन्त्री रहेका जोन केरीले पनि सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पको आलोचना गरेकी छन् । बाइडनले विश्व बुझेको भन्दै केरीले राष्ट्रहरूलाई एक ठाउँ नल्याई कुनै पनि समस्या समाधान हुन नसक्ने उनले तर्क गरिन् ।
ट्रम्पको प्रतिकार
ट्रम्पले आफूसँग असन्तुष्ट रिपब्लिकन नेताहरूलाई ट्विटरमार्फत प्रतिकार गरेका छन् । उनले बाइडनलाई ‘वामपन्थी अतिवादीहरूको कठपुतली’ को संज्ञा दिएका छन् ।
कोरोना भाइरसका कारण यो वर्षको सम्मेलन इन्टरनेटको माध्यमबाट भइरहेको छ । आगामी साता रिपब्लिनकको सम्मेलनमा पनि अनलाइनमार्फत नै हुने जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो तर्कहरु प्रस्तुत गर्नेछन् र उनले आफूमाथि लागेको आरोपहरुको खण्डन गर्नेछन् । अनलाइनमार्फत भएको सम्मेलनले विगतमाजस्तो मतदातालाई उत्साहित पार्नसक्ने भन्ने विषयमा पनि स्पष्ट पारिएको छैन ।
-बीबीसीको सहयोगमा