वीरगंज | राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सभामुखदेखि राजनीतिक दलका नेताहरुले निवासमै पुगेर श्रद्धञ्जली व्यक्त गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला अन्तिम श्रद्धञ्जली व्यक्त गर्न घिमिरेको लैनचौरस्थित निवास पुगेका थिए ।
मंगलबार साँझ घिमिरेको आफ्नै निवासमा निधन भएको थियो । महामन्त्री कोइरालाले राष्ट्रकवि घिमिरेको निधनको खबरले अत्यन्त मर्माहत तुल्याएको बताएका छन् । उनले नेपाली साहित्यजगतमा घिमिरेले पुर्याएको योगदानको स्मरण पनि गरे ।
त्यस्तै, कांग्रेस वरिष्ठ नेता पौडेल पनि घिमिरेको निवासमा पुगेर अन्तिम श्रद्धञ्जली व्यक्त गरे । उनले घिमिरे नेपाल राष्ट्रका ढुकढुकी भएको भन्दै आफ्नो साहित्य सिर्जनाद्वारा नेपाली राष्ट्रिय चेतना जगाउनका लागि महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
घिमिरेको निधनबाट राष्ट्रले एउटा महान् विभूतिलाई गुमाएको उनले उल्लेख गरेका छन् । घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ आजै अन्त्येष्टि गरिएको छ ।