सिरहा | सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपीसहित पाँच जनामा कोरोना पुष्टि भएको छ। डिएसपी सन्तुलाल जयसवाल, तीन जवान र एक थुनुवामा कोरोना पुष्टि भएको मिर्चैया नगरपालिकाले जनाएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना पुष्टि भएको हो। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले डिएसपीसहित चारै संक्रमितलाई मापदण्ड अनुसार प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको जानकारी दिए।
थुनुवालाई भने अलग आइसोलेसनमा राखिएको छ। पछिल्लो समय सिरहामा समेत तीव्र गतिमा कोरोना संक्रमण फैलँदै गएको छ। सिरहामा हालसम्म २८० जनामा कोरोना पुष्टि भएको छ।
जसमध्ये २०९ जना डिस्चार्ज भइसकेका छन्। अहिले ५५ जना आइसोलेसन र ५४४ जना होम आइसोलेसनमा बसेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सिरहाको लहान, गोलबजार, मिर्चैया, कर्जन्हा, सिरहा नगरपालिका लगायतका स्थानीय तहले निषेधाज्ञा जारी गरेको छ। संक्रमण समुदायमा फैलिसकेकाले उच्च सतर्कता नअपनाए अागामी दिनमा अवस्था भयावह हुने चिकित्सकहरु बताउँछन्।