वीरगंज | सरकारले कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था गरेको छ।
मन्त्रिपरिषद् बै्ठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्लाभर तथा कुनै निश्चित ठाउँमा निषेधाज्ञा जारी गर्न सक्ने जानकारी दिए।
संक्रमण जोखिमको विश्लेषणका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम कोभिड- १९ उपचार रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभर वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक व्यवस्था मिलाउन र सोको निमित्त
आवश्यकताअनुसार स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको अधिकारसमेत प्रयोग गर्न सबै जिल्ला अधिकारीहरूलाई मुकरार गरी अधिकार सुम्पने निर्णय भएको उनले बताए ।
सरकारले निषेधाज्ञा जारी भएको क्षेत्रमा रहने सरकारी तथा सार्वजनिक कार्यालयहरूले न्यूनतम संख्याका कर्मचारीबाट काम चलाउन र अन्यलाई घरबाट काम गर्ने व्यवस्था सम्बन्धित प्रमुखले मिलाउने उनले बताए।