एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना महामारीको उद्गमस्थल चीनको ऊहानमा एक पुल पार्टी (स्विमिङ पुल) ले यसबेला सबैका ध्यान खिचेको छ ।
सो पार्टीका तस्बिरहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरल भैरहेका छन् । उक्त पार्टीमा हज्जारौं व्यक्तिहरु बिना मास्क सहभागी भएका देखिन्छन् । जानकारी अनुसार यस पार्टीको आयोजना गत हप्ता गरिएको थियो ।
माया बीच वाटरपार्कमा भएको सो पार्टीमा म्युजिकल कन्सर्टको समेत आयोजना गरिएको थियो । सो भीडमा न त कसैले मास्क लगाएका थिए, न त कसैले सामाजिक दूरी नै कायम गरेका थिए ।
जबकी यही शहरबाट कोरोना संक्रमणको महामारी शुरु भएर अहिले विश्वलाई नै हायलकायल पारिरहेको छ ।चिनियाँ सरकारको आँकडा अनुसार ऊहानमा मात्र करिब ३ हजार व्यक्तिको संक्रमणका कारण निधन भएको थियो ।
तर कुनै रिपोर्टहरुमा भने ऊहानमा मर्नेहरुको संख्या ४२ हजारको आसपासमा रहेको समेत दाबी गर्ने गरिएको छ । यद्यपि, यो पुष्टि हुन सकेको छैन । तर चीनले भने पुरै देशमा ४ हजार ६ सय ३४ जनाको संक्रमणका कारण मृत्यु भएको बताउँदै आएको छ ।
अहिले संसारभर २ करोड २१ लाख ११ हजार ४६६ जना संक्रमित देखिएका छन् भने ७ लाख ७८ हजार ५११ जनाको मृत्यु भइसकेको छ । १ करोड ४८ लाख ४८ हजार ५ सय ८३ जना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् । –अमर उजाला