मेक्सिकोका राष्ट्रपति आन्द्रेज मनेवेल लोपेज ओबराडोरले रुसले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रभावकारी साबित भए त्यसको प्रयोग आफैंबाट शुरुवात गर्ने बताएका छन् ।यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो टुटेर्टेले आफू रुसको खोपको लागि तयार रहेको बताएका थिए ।
रुसले दुई महिनाको परीक्षणपछि कोरोना भाइरसको खोपको लागि अनुमति दिएको छ । यो खोपले पहिलो चरणको उत्पादन पनि गरिसकेको छ । यद्यपि यति कम समयमा कोरोना भाइरसको खोपको उत्पादनलाई अनुमति दिएकोप्रति अन्तर्राष्ट्रियरुपमा नै यसबारे आशंका उत्पन्न भएको छ । धेरै वैज्ञानिकहरुले रुसले खोप निर्माणको क्रममा सुरक्षालाई भन्दा पनि राष्ट्रिय प्रतिष्ठालाई बढी प्राथमिकतामा राखेको आरोप लगाएका छन् ।
केही वैज्ञानिकहरु क्लिनिकल परीक्षणमा गएकामध्ये केवल १० प्रतिशत खोप मात्र सफल हुने बताउँछन् ।यो खोपको विषयमा सोधिएको प्रश्नको उत्तर दिँदै ओबराडोरले आफू सबैभन्दा पहिला खोप लगाउने व्यक्तिहरुमध्येको एक हुने बताए । अहिले विश्वभर नै कोरोना भाइरसविरुद्धको खोप निर्माणको दौड चलिरहेको छ ।
मेक्सिको र अर्जेन्टिनाको सरकारले औषधि निर्माता कम्पनी एक्स्ट्राजेनेकासँग मिलेर खोप उत्पादनको काम गरिरहेका छन् । मेक्सिकोका उपविदेशमन्त्रीले तेस्रो चरणको क्लिनिकल परीक्षण सफल भएको खण्डमा मेक्सिकोलाई कोरोना भाइरसविरुद्धको खोपको २० करोड डोज आवश्यक पर्ने बताएका छन् ।
मेक्सिकोमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख २२ हजार १६२ पुगेको छ । साथै अहिलेसम्म यो भाइरसको कारण मृत्यु हुनेको संख्या ५६ हजार ५७७ पुगेको छ ।
स्रोत : बीबीसी