रौतहट । रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुर जहाँ खातुनले कोरोना भाईरस जांचको लागि स्वाब नदिँदा नगरबासी आतंकित भएका छन् । उपमेयर खातुनको श्रीमान नसरुदिन अन्सारी कोरोना संक्रमित हुँदा पनि उनको परिवारले जाँच नगराउँदा कटहहरिया बासी आतंकित भएका हुन् ।
पछिल्लो एकसाता अघि एकजना समुदायका युवामा संज्रमणको पुष्टि भएसँगै कटहरियामा कन्ट्रेक्ट ट्रेसिङको आधारमा १ सय ५६ जनाको स्वाब संकलन भएको थियो ।
उक्त स्वाबको पिसिआर जांचको रिपोर्टमा नसरुदिन अन्सारी सहित ९ जनामा रिपोर्ट पोजिटिभ आएको थियो । रिपोर्टको आधारमा संक्रमित ८ जनाको सम्पर्कमा आएकाहरुको कोरोना जाँच भइसकेपनी उपमेयर खातुन लगायत उनको परिवारको स्वाब संकलन हुन सकेको छैन ।
नगर प्रमुख सियायाम कुश्वाहाले स्वाब दिन पटक पटक अनुरोध गर्दा पनि उप प्रमुख नुर जहाँले वास्ता नगरेको बताए । कटहरिया नगर स्वास्थ संयोजकले स्वाब संकलनको लागि भन्न जाँदा उपमेयर खातुनले आफुलाई केही नभएको भन्दै किन जाँच गर्नुपर्यो भनी गाली गलौज गरेर फर्काउने गरेको बताए ।
केहिदिन अघि उपमेयरको छोरीको बिवाहमा भारतका विभिन्न स्थान बाट दर्जनौं मानिस उनको घरमा अतिथिको रुपमा आएका थिए । उनीहरु बाटै नसरुदिन अन्सारिमा कोरोना सरेको हुन सक्ने आशंका गरिएको छ । कटहरिया नगर प्रमुख सियाराम कुश्वाहाले स्वाब दिन पटक पटक उपमेयरलाई आग्रह गर्दा पनि कुनै वास्ता नगरेको गुनासो गरे ।
प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले संक्रमितको सम्पर्कमा आएकाहरुको कुनै पनि हालतमा पिसिआर जाँच हुनैपर्ने बताए ।