वीरगंज | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आईसीयू र भेन्टिलेटरमा ८८ जना संक्रमित उपचाररत रहेका छन् ।
जसमध्ये ८५ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा उपचाररत रहेको पाइएको छ । प्रदेश १ मा एकजना, प्रदेश २ मा ४३ जना, बागमती प्रदेशमा ३५ जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी प्रदेश ५ मा ६ जना संक्रमित आईसीयूमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए । गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशमा आईसीयू र भेन्टिलेटरमा संक्रमित नरहेको समेत मन्त्रालयले जनाएको छ ।
कुन-कुन प्रदेशमा छन् होम आइसोलेसनमा ?
नोभेल कोरोना संक्रमण देखिएर होम आइसोलनेमा २२४ जना बसेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार होम आइसोलेसनमा प्रदेश १ मा ४०, प्रदेश ५ मा १४५, कर्णाली प्रदेशमा चार जना रहेका छन् ।
प्रदेश २, गण्डकी प्रदेश र सुदुपश्चिम प्रदेशमा संक्रमित होम आइसोलेसनमा नरहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितको उपचारका लागि एक हजार १३४ आईसीयू वेड र पाँच सय ७६ भेन्टिलेटर छुट्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।