एजेन्सी । हाल डेमोक्रेट्स पार्टीका दशमध्ये नौ जनाले अमेरिकी सिनेटर कमला ह्यारीसलाई उपराष्ट्रपतिको उमेदवारका रुपमा स्वीकार गरेका छन् । यति मात्र नभएर उनी महिला, युवा मतादाता र केही रिपब्लिकनहरु माझ, राष्ट्रपति उमेदवार जो बाइडेन भन्दा बढी लोकप्रिय रहेको प्रकाशित सर्वेक्षणको नतिजामा देखिएको हो ।
अगस्ट ११–१२ मा गरिएको जनमत सर्वेक्षणमा ६० प्रतिशत अमेरिकी नागरिकहरु, जसमा ८७ प्रतिशत डेमोक्रेट्स र ३७ प्रतिशत रिपब्लिकन समेतले कमला ह्यारिसलाई पहिलो अश्वेत एसियाली अमेरिकी उपराष्ट्रपतिको उमेदवारका रुपमा स्वीकारेको पाइएको छ । यसमा उनी विजेता भए अमेरिकाका लागि वास्तवमै सो क्षण ऐतिहासिक हुने पनि बताइएको छ ।
यसरी ह्यारिस, प्रमुख मतदाता समूहहरु माझ बाइडेनभन्दा बढी लोकप्रिय रहेको स्पष्ट भएको छ जस मार्फत उनले नोभेम्बरमा हुने निर्वाचनमा बाइडेनको समर्थन ठूलो स्तरमा बढाउनमा मद्दत पुर्याउन सक्ने अनुमान गरिएको छ ।
५५ वर्षीया कमला ह्यारिस जमाइका र भारतीय मूलका आप्रवासी बाबुआमाबाट जन्मिएकी हुन् । उनी पूर्व प्रोसेक्युटर र क्यालिफोर्नियाकी महाधिवक्ता पनि रहिसकेकी छन् । यसरी उनी इतिहासकै दोस्रो अश्वेत अमेरिकी सिनेटर महिला बन्न सफल भएकी हुन् ।
उक्त सर्वेक्षणमा भने बाइडेनले रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पहिलेको पोलमा जसरी नै सहजै हराएका हुन् र यसमा बाइडेनले उपराष्ट्रपतिका लागि कमलाको नाम घोषणा गरेपछि तिनको लोकप्रियता अझ १ प्रतिशतले वृद्धि भएको पनि देखिएको छ । यसमा ४६ प्रतिशत अमेरिकी वयश्कहरुले बाइडेन–ह्यारिसलाई मत दिने बताएका हुन् भने ३८ प्रतिशतले चाहिँ ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको पक्षमा रहेको बताएका छन् ।
यो सर्वेक्षणपछि अमेरिकी नागरिकहरुमा ह्यारिसको वास्तवमै सकारात्मक छवि रहेको स्पष्ट भएको छ । उनका पक्षमा ५६ प्रतिशत अमेरिकीहरु रहेका थिए जुन लगभग बाइडेनकै बराबर हुन्छ । यता ४२ प्रतिशतले चाहिँ आफूहरु ट्रम्पको पक्षमा भएको बताएका हुन् भने ४७ प्रतिशत पेन्सको समर्थनमा थिए ।
यसमा महिलाहरु मात्र ६० प्रतिशतले ह्यारिसको समर्थनमा रहेका छन् जुन तुलनात्मक रुपमा बाइडेनबारे भने ५३ प्रतिशतको मात्र धारणा थियो । अमेरिकी चुनावमा महिला सहभागीता वास्तवमै हावी रहेको यसअघिको निर्वाचनले नै देखाइसकेको छ । यसैकारण अहिले ह्यारिसको उमेदवारीले वास्तवमै ठूलो भूमिका खेल्न सक्ने बताइएको छ ।
यता महिला मतदाताहरुको सन्दर्भमा बाइडेन पहिलेदेखि नै ट्रम्प भन्दा अगाडि रहेको मानिएपनि पछिल्ला केही महिनामा भने अश्वेत महिलाहरुको पक्षमा उनको प्रयास सुध्रन नसकेको बताइएको छ र अर्कोतर्फ अझैपनि कलेज डिग्री नभएका अधिकतम श्वेत महिलाहरु चाहिँ ट्रम्प प्रति नै इमान्दार छन् ।
विशेषगरी यसमा रिपब्लिकन पार्टीकै २५ प्रतिशतले ह्यारिसबारे सकारात्मक धारणा व्यक्त गर्नु धेरै ठूलो कुरा भएको बताइएको छ । यता बाइडेनलाई चाहिँ २० प्रतिशतले स्वीकार गरेका छन् । यसरी कम अन्तरको नतिजा युक्त निर्वाचन हुने भएकाले पनि रिपब्लिकन मतदाताहरुबाट आउने थोरै सङ्ख्याको समर्थनले पनि ठूलो भूमिका खेल्न सक्ने राजनीतिक विद्हरुले बताएका छन् । त्यसैगरी ३५ वर्ष भन्दा कम उमेरका युवा वर्गमा पनि ह्यारिस अधिक लोकप्रिय रहेको देखिएको छ ।
तरपनि अहिले नै चुनावको नतिजा सम्बन्धी केही निश्चित भन्न सकिँदैन किनकी सर्वसाधारणको धारणा सजिलै बदलिन सक्छ भने ट्रम्पको चुनाव अभियानलाई पनि नजरअन्दाज गर्न नसकिने बताइएको छ । बाइडेनले ह्यारिसबारे घोेषणा गरे लगत्तै ट्रम्पले उनलाई अभद्र , खराब, भयानक लगायत विभिन्न शब्दले बोलाएका थिए । उनको चुनाव अभियानमा ह्यारिसलाई अतिवादीका रुपमा प्रस्तुत गरिँदै आएको छ ।
रोएटर्स/इपसोस सर्वेक्षण अङ्ग्रेजीमा अनलाइन मार्फत अमेरिकाभर सञ्चालन गरिएको थियो जसमा ३८९ रिपब्लिकन र ४१९ डेमोक्रेट्सहरु सहित एक हजार बढी नागरिकहरुको प्रतिक्रिया प्राप्त गरिएको हो । रोयटर्स