चितवन । चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा चितवनका २७ र सर्लाही एक महिला गरी २८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा अधिकांश भरतपुरमा रहेका विभिन्न अस्पतालमा उपचाररत बिरामी छन् । भरतपुर अस्पतालका अनुसार संक्रमित हुनेहरुमा भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएकोमा भरतपुर महानगरपालिका वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० पुरुष र ११ महिला गरी थप २१ जना रहेका छन् ।
त्यस्तै रत्ननगर नगरपालिका वडा नं ५ र १२ का क्वारेन्टिनमा रहेका ३ पुरुष र १ महिला रहेका छन् ।यसैगरी शनिबार नै गरिएको परीक्षणमा खैरहनी नगरपालिका–८ का क्वारेन्टिनमा रहेका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । शनिबार ४७४ नमुना परीक्षण मध्य ४४६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।